काठमाडौं । घरेलु तथा साना उद्योगहरुलाई ऋण प्रवाहमा सहजीकरण गर्न नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैकर्स एसोसिएसनबीच सहमती भएको छ । महासंघका अध्यक्ष शेखर गोल्छा र बैकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहालबीच महासंघको सचिवालयमा भएको औपचारिक भेटवार्तामा सो सहमती भएको हो ।
महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीबी बस्नेतले विषय प्रवेश गराएको सो भेटवार्तामा महासंघ र बैकर्स एसोसिएसनबीच घरेलु तथा साना उद्योग(एसएमईजहरू) क्षेत्रमा हुन सक्ने सहयोग÷सहकार्यका विषयमा छलफल भएको थियो ।
भेटवार्तामा एसएमईजहरूलाई ऋण सहजीकरणदेखि अन्य क्षेत्रमा सहयोग गर्न केन्द्रमा दुवै संस्थाको सहभागितामा एउटा सानो कार्यदल गठन गर्ने र विस्तारै प्रदेश तथा जिल्लास्तरमा पनि कार्यदल विस्तार गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त भएको छ । यसका लागि दुवै संस्थाबीच छिट्टै एक सहमतीपत्रमा हस्ताक्षर गरी अगाडी बढ्ने सहमती समेत भएको छ ।
महासंघको घरेलु तथा साना उद्योग समितिको माघ २० गते बसेको पहिलो बैठकले एसएमईजहरुलाई लगानी सहजीकरणका लागि बैकर्स संघ र नेपाल राष्ट्र बैंकसंग सहजीकरण गर्ने सम्बन्धमा गरेको निर्णय अनुसार उक्त भेटवार्ता भएको हो ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत साना तथा मझौला उद्योग व्यवसायको पुनरुत्थानका लागि ल्याएका राहत प्याकेजहरू कतिपय जिल्लामा लागू गर्न बैंकहरू अनिच्छुक देखिएका गुनासाहरू विभिन्न जिल्लाहरूबाट महासंघको आएका सन्दर्भमा दुवै संस्थाबाट भएको यो प्रतिवद्धताबाट कार्यान्वयन तहमा आउने समस्या समाधानमा समेत सहयोग पुग्ने विश्वास महासंघको छ ।
राष्ट्र बैंकले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनराबृत्ति सर्बेक्षणको प्रतिवेदन २०७७ अनुसार कोभिडको समय असारसम्म ६३.६ प्रतिशत सञ्चालन हुन नसकेका घरेलु, मझौला र साना उद्योगहरुमा १३.०१ प्रतिशत अहिलेसम्म पनि खुल्न सकिरहेको छैनन् । राष्ट्र बैंकद्धार गरिएको एक अर्को अध्ययनका अनुसार नयाँ व्यवसाय सञ्चालनका लागि बैंक तथा वित्तीय संस्थाहरुमा १६ प्रतिशतको मात्रै पहुँच रहने गरेको छ ।
निर्यात प्रवद्र्धन केन्द्रका अनुसार नेपालबाट निकासी हुने सामाग्रीको ४२ प्रतिशत अंश घरेलु, मझौला र साना उद्योगहरुको रहेको छ । उक्त भेटवार्तामा महासंघका उपमहानिर्देशक गोकर्ण अवस्थी, एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा र महासंघका उपनिर्देशक विदुरचन्द्र लामिछानेको उपस्थिति थियो ।