काठमाडौं । कर्जा प्रवाहमा स्ट्याण्डर्ड चार्टर्ड बैंक सुस्त देखिएको छ । बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणका आधारमा कर्जा लगानीमा सुस्त देखिएको हो ।
वाणिज्य बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरणअनुसार स्ट्याण्डर्ड चार्टर्डको कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी) ६२.७५ प्रतिशत छ । यसबाट बैंक कर्जा प्रवाहमा आक्रामक छैन भन्ने देखिन्छ ।
केन्द्रीय बैंकले ८० प्रतिशतको सीसीडीको सीमालाई बढाएर ८५ प्रतिशत पुर्याएको छ । तैपनि वाणिज्य बैंकहरूले त्यो सीमासम्म कर्जा प्रवाह गर्न सकेका छैनन् ।
एकातिर बैंकको नाफामा संकुचन आइरहेको छ भने अर्कोतिर बैंकहरू पनि कछुवा गतिमा ऋण प्रवाह गरिरहेका छन् । नयाँ–नयाँ लगानीका क्षेत्र खोजेर ऋण प्रवाह गर्नुको साटो व्यवसाय विस्तार नै रोकेर बसेको देखिएको छ ।
बैंकहरूले पुस मसान्तमा प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरण हेर्दा कुनै पनि बैंकले सीसीडीलाई ८५ प्रतिशत पुर्याएका छैनन् ।
व्यवसाय विस्तारमा मेगा बैंक अघि देखिएको छ । मेगाको सीसीडी रेसियो ८२.३० प्रतिशत पुगेको छ ।
त्यसपछि एनएमबी बैंक पनि व्यवसाय विस्तारमा आक्रामक भएको देखिन्छ । एनएमबीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार पुस मसान्तसम्ममा सीसीडी रेसियो ८१.९७ प्रतिशत छ । प्राइम कमर्सियल बैंकको ८१.३७ र सानिमा बैंकको ८१.६ प्रतिशत सीसीडी पुगेको छ ।
२२ बैंकको सीसीडी रेसियो ७९ प्रतिशत कम छ । लगानीयोग्य पुँजी बैंकमै थुपार्नेमा स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकलगायत छन् । यी बैंकको सीसीडी ६२.७५ प्रतिशतदेखि ७० प्रतिशतको बीचमा रहेको छ ।