काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शून्य दशमलव ५ प्रतिशतभन्दा बढी सेयर होल्डिङ भएका बैङ्क तथा वित्तीय संस्थाका लगानीकर्ताको लगानी विवरण मागेको छ ।
साउन १५ गते बैङ्क तथा वित्तीय संस्थालाई आन्तरिक लिखित सर्कुलर गर्दै पाँच दिनभित्र विवरण बुझाइसक्न भनेको हो । यद्यपि, बैङ्क तथा वित्तीय संस्थाका संस्थापक सेयरधनीको ०.५ प्रतिशतभन्दा बढी हिस्साको विवरण भने वार्षिक प्रतिवेदनमै उल्लेख हुन्छ । तर, केन्द्रीय बैङ्कले भने तत्काल यस्तो विवरण माग्नुले विशेष अर्थ राख्छ ।
राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाले शून्य दशमलव ५ प्रतिशतभन्दा बढी सेयर धारण गर्ने सेयरहोल्डरहरुको नामावलीसहित रोक्का रहेको सेयर विवरण र संस्थापकबाट लगानी भएको चुक्ता पुँजीको विवरण पनि एकैसाथ बुझाउनुपर्ने छ ।
बैङ्क तथा वित्तीय संस्थालाई मर्जरमा जान प्रेरित गरिरहेको केन्द्रीय बैङ्कले क्रश होल्डिङ सेयर भएका बैङ्क तथा वित्तीय संस्थालाई दबाबमूलकरुपमा मर्जमा लाने पनि बताउँदै आएको छ ।

यस्तो बेला दिएको निर्देशनले बैङ्क तथा वित्तीय संस्था थप दबाबमा परेका छन् । यसअघि बिहीबारमात्रै डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शून्य दशमलव १ प्रतिशतभन्दा बढी सेयर होल्डिङको विवरण माग गरिएको एक कार्यक्रममा बताएका थिए ।
यसैगरी, सञ्चालकहरुलाई दिइएको भत्ता तथा सेवा सुविधासम्बन्धी विवरण तथा लेखामा भएको रेकर्ड उपलब्ध गराउन पनि राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
बैङ्क तथा वित्तीय संस्थाले केन्द्रीय बैङ्कको स्वीकृति र साधारणसभाको अनुमोदनपछि मात्रै यी सुविधा वितरण हुने भए पनि केन्द्रीय बैङ्कले दोहोर्याएर विवरण मागेको हो ।