काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि रोकेको अनराइभल भिसा अहिलेसम्म खुलाएको छैन । सरकारले विदेशी पर्यटकलाई नेपाल आउन खुला गरे पनि अनराइभल भिसा भने खुलाएको छैन । जसको कारण नेपाल आउन चाहने पर्यटकहले सहज रूपमा आउन पाएका छैनन् ।
पर्यटकलाई सहज रूपमा नेपाल आउने वातावरण बनाउनका लागि अहिले पर्यटन व्यवसायीहरूले सरकारसँग लविङ गरिरहेका छन् । व्यवसायीका लागि सन् २०२० सबैभन्दा खराब वर्ष भएको भन्दै २०२१ लाई भने केही चलायमान बनाउन आवश्यक पहल गरिदिन सरकारसँग होटल एसोसिएसन अफ नेपाल (हान) ले माग गरेको छ ।
हानका अध्यक्ष सिर्जना राणाले अर्थमन्त्री विष्णु पौडेल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई भेटेर सहज र सरल रूपमा विदेशीहरूलाई नेपाल आउने वातावरण मिलाइदिन आग्रह गरेकी छिन् ।
पर्यटक नभएकै कारण अहिले काठमाडौंका होटलहरूको अकुपेन्सी २ प्रतिशतमा सिमित रहेको भन्दै यस्तो अवस्थामा सरकारले विशेष पहल गरी दिनुपर्ने उनको धारणा छ ।
आवश्यक स्वास्थ्य प्रोटोकल अपनाउन होटलहरू तयार रहेको र विदेशीहरू पनि नेपालमा आउन चाहिरहेको बेला सरकारले बनाएको आपदण्डकै कारण समस्यामा परेको हानको ठहर छ ।
त्यसैले तत्कालै सरकारले विदेशीहरूका लागि अनराइभल भिसा खुला गरिदिनुपर्ने, क्वारेन्टाइनको व्यवस्था हटाउनु पर्ने, कोभिड भ्याक्सिन लगाएकाहरूलाई सहज रूपमा आउन दिनुपर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पीसीआर टेष्टको व्यवस्था गर्नुपर्ने, भारतीय पर्यटकहरूलाई निर्वाध रूपमा बोडरमार्फत आउन दिनुपर्ने माग सरकारसँग राखेको छ ।
हानका महासचिव शाजन शाक्यले विदेशी पर्यटकहरू नआएकै कारण अहिले पनि केही होटलहरू बन्द रहेको बताए । जसका कारण व्यवसायी मात्र होइन, त्यसमा आत्मनिर्भर भएका श्रमिकहरूसमेत समस्यमा परेकाले यस विषयमा सरकारले गम्भिर भएर सोच्न आवश्यक रहेको उनको भनाइ छ ।
विदेशी पर्यटकहरूलाई मात्र लक्षित गरेर सञ्चालन गरिएका होटलहरू अहिलेसम्म सञ्चालनमा नआए पनि तिनीहरूले डिमाण्ड शुल्क भने तिरिरहनुपर्ने भएकाले सो रकम घटाइ दिनसमेत सरकारलाई आग्रह गरेका छन् ।
केही समयअघि मात्र अर्थ मन्त्रालयले उत्पादन मुलुक उद्योगको डिमाण्ड शुल्कमा छुट दिएको थियो । सरकारले नै अतिप्रभावित भित्र होटल क्षेत्रलाई राखे पनि डिमाण्ड शुल्क छुट भने नदिएको प्रतिहोटल व्यवसायीहरू निराश बनेका छन् ।
सरकारले बनाएको मापदण्डमा उत्पादनमूलक उद्योगहरू मात्र परेको र होटल सेवा क्षेत्रमा परेकोले तत्कालै छुटको व्यवस्था गर्न नसकेको सरकारी निकायहरूले बताउँदै आएका छन् ।यद्यपि अर्थमन्त्री पौडेल र पर्यटनमन्त्री ढकालले भने व्यवसायीहरूलाई छुट दिने आश्वासन भने निरन्तर दिँदै आएका छन् ।