काठमाडौं । दोलखामा पहिलो पटक तारे होटल सञ्चालनमा आउने भएको छ । सदरमुकाम चरिकोटमा ‘ट्रेड बिजनेस’ गर्दै आएका व्यवसायी दिनेश बस्नेतले दुई तारे होटल एम्ब्रोसिया सञ्चालनमा ल्याउन लागेका हुन् ।
धार्मिक एवम् पर्यटकीय क्षेत्रको रूपमा परिचित हिमाली जिल्ला दोलखामा २०७८ वैशाखबाट सञ्चालनमा आउने गरी निर्माण भइरहेको बस्नेतले जानकारी दिए । होटलको भवन बाहेक १० करोड रुपैयाँ लगानी भएको छ । ३५ वटा कोठामा १ सय जनाको क्षमता छ ।
सुविधासम्पन्न बैंक्वेटसमेत होटलमा रहनेछ । बैंक्वेटको क्षमता ५ सय जनाको रहेको छ । १ सय जनाको क्षमताको मिटिङ हल र रुफटपमा रेष्टुराँमा समेत गरी १ हजार जनालाई एकै पटक होटलले सेवा दिन सक्नेछ ।

होटलमा बस्नेले रुफटप रेष्टुराँँ, बैंक्वेट र सोना स्टिमको समेत सुविधा पाउने छन् । व्यावसायिक प्रायोजनका लागि बस्नेतले नै बनाएको भवनलाई होटलमा रूपान्तरण गरेका हुन् । २०७७ को असोजभित्रै होटल सञ्चालनमा ल्याउने गरी सुरुमा तयारी गरिएको भए पनि कोरोना भाइरस महामारीका कारण वैशाखबाट सञ्चालनमा ल्याउन थालिएको उनको भनाइ छ ।
होटलको बेड र कोठा भने पाँचतारे स्तरकै बनाइएको उनी बताउँछन् । सुरुमा तीनतारे होटल बनाउने सोचका साथ अघि बढे पनि बेड संख्या कम भएकाले दुई तारे मात्र हुने बताइएको छ । त्यसका लागि आवश्यक पूर्वाधारहरू पर्याप्त रहेको सञ्चालक बस्नेतको भनाइ छ ।

सो होटलको रेष्टुराँलाई भने सामान्यदेखि भीआईपीहरूलाई समेत लक्षित गरीएको जनाएको छ । आन्तरिक पर्यटकको संख्या बढिरहेको बेला दोलखामा सुविधासम्पन्न होटलहरू नभइरहेको बेलामा दुईतारे होटल सञ्चालनमा आउन लागेको हो । धेरै पर्यटकहरू सुविधासम्पन्न होटल नभएकै कारण एकै दिनमा कालिञ्चोक र भीमेश्वर मन्दिरको दर्शन गरेर फर्कने गरेका छन् ।
लामो समयदेखि व्यवसाय गर्दै आएका बस्नेत गोर्खा ब्रुअरी र सूर्य नेपालका दोलखाका लागि आधिकारिक बिक्रेता पनि हुन् । उनले दोलखामै कालिञ्चोक ड्रिङकिङ वाटर उद्योगसमेत सञ्चालन गर्दै आएका छन् । उनलाई दोलखाका सफल व्यवसायी भित्रमा लिने गरिएको छ ।

उनी सहितको टिमले होटल भएकै भवनमा दोलखाकै पहिलो सुपरमार्केट ‘सुपर नाइन’ सञ्चालन गर्दै आएका छन् भने केही समयअघि मात्र सफल इन्टरप्राइजेज समेत सञ्चालनमा ल्याएका छन् ।



