काठमाडौं । भारतसँग सीमा जोडिएको नाकाहरु अविलम्ब खुला गर्न माग गर्दै लुम्बिनीका पर्यटन व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई माघ ४ गते नै ज्ञापनपत्र बुझाएर भारतसंग जोडिएको सिमावर्ती नाका अविलम्ब सञ्चालन गर्न माग गरे पनि हालसम्म सुनुवाई नभएको भन्दै त्यस क्षेत्रका व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।
कोरोना भाइरस(कोभिड १९) पछि सरकारले भारतीय नाकाहरु बन्द गरिदिएको थियो । नाकासंगै एयरलाइन्सहरुसमेत उडानमा रोक लगाएको थियो । तर,अहिले अन्तर्राष्ट्रिय उडानहरु खुला गरेको महिनौसम्म भइसक्दा समेत नाका भने सुचारु नगरेको भन्दै त्यस क्षेत्रका व्यवसायीहरु आन्दोलित भएका छन् ।
सिद्धार्थ होटल संघ नेपाल(सान)को नेतृत्वमा सात दिनसम्म नाकामा गएर दबाबमुलक धर्ना दिइरहेको अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिए ।
सरकारबाट पटक पटक नाका खुलाउने आश्वासन पाए पनि कार्यन्वयन नभएको भन्दै अहिले बाध्य भएर आफुहरु आन्दोलनमा उत्रिनु परेको उनको भनाई छ । कोभिडले व्यवसाय थलिएको बेला लामो समयदेखि नाका बन्द गरेर सरकारले नै आफुहरुलाई समस्यामा पारेको व्यसायीहरुको भनाई छ ।
आइतबार नाकामा बृहत प्रदर्शन गर्न लागिएको र त्यस दिनसम्म पनि सरकारले नाका खोल्ने निर्णय नगरे सोमबारबाट दुवै देशमा जाने र आउने मालबाहक गाडीहरु रोक्ने चेतावनी दिएका छन् । उनीहरुले गत आइतबारदेखि नाकामा दैनिक रुपमा धर्ना दिइरहेका छन् ।
लुम्बिनी लगायत अन्य नेपालका मूख्य पर्यटकीय गन्तव्यहरुमा भारतीय पर्यटकको भुमिका मूख्य रहेकोले सीमा नाकामा भारतीय पर्यटकहरुलाई आवागमन गर्नका लागि सहज वातावरण बनाउन व्यवसायीहरुको माग छ ।
नेपालमा सबैभन्दा बढी पर्यटक भारतबाट आउने गरेका छन् । छिमेकी मुलुकबाट पर्यटकहरु भित्र्याई वर्तमान समयमा देखिएको पर्यटकको अभाव केही हदसम्म पूर्ति गर्न सक्ने अवसर हुँदाहुँदै सरकारले स्वास्थ्यको नाममा अनेकन बहानाबाजी बनाई नाकाहरु हालसम्म बन्द गरेको व्यवसायीहरुको गुनासो छ ।
सानका सल्लाहकार चेतन पन्तले पर्यटकको अभावलाई पूर्ति गर्न आवश्यक स्वास्थ्य सुरक्षाका सावधानी ,मापदण्ड र कार्यविधि अपनाई भारतसँग जोडिएका सीमा नाकाहरुलाई अविलम्ब पुनःसञ्चालन गरी भारतीय पर्यटकहरु भित्र्याउने वातावरण सरकारले बनाउनु पर्ने बताउछन् ।
पर्यटक नभएकै कारण अधिकाशं होटल व्यवसायीहरु र ट्राभल एजेन्सीहरु पलायन हुने अवस्था आइसकेकोले यस विषयमा तत्कालै सरकारले आवश्यक कदम चाल्नु पर्ने उनको भनाई छ ।