काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्र झापामा चिनियाँ लगानीमा औद्योगिक पार्क बन्ने भएको छ । प्रधानमन्त्री ओली झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका हुन ।
आफु अध्यक्ष भएको लगानी बोर्ड बैठकले दमक तथा आसपासका गौरादह नगरपालिका र कमल गाउँपालिकाका एकीकृत जग्गामा नेपाल चाइना फ्रेन्डसीप इन्डस्ट्रियल पार्क बनाउन ६४ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको हो ।
दमक क्लिन इन्डस्ट्रियल पार्क प्रालिलाई प्रम ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको शुक्रवारको बैठकले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन दिने निर्णय गरेको हो ।
दमक नगरपालिकाको दक्षिणमा वार्ड नं १०, कमल गाउँपालिका वार्ड नं ७ तथा गौरादह नगरपालिका वार्ड नं ५ को केही भाग जोडेर प्रस्तावित पार्क बन्न लागेको हो। अहिले अधिग्रहण भइसकेको करिब ९४२ बिघा जमिनको अधिकांश भागमा जङ्गल थियो।
पार्क निर्माण गर्नका लागि करिब २ हजार १०० बिघा चाहिनेमा अन्य जग्गाको व्यवस्था गर्ने काम भइरहेको छ । सन् २०१७ मा चीनबाट एउटा टोली आएर उक्त जग्गा अवलोकन गरेको थियो।
पार्क निर्माणका लागि चीनको ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभेलप्मेन्ट जोन जिङपिङ ज्वाइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभेलप्मेन्ट कम्पनी लिमिटेडलाई लगानी गर्न स्वीकृति दिएको लगानी बोर्डले जानकारी दिएको छ ।
पहिलो चरणको काम यही असोज महिनादेखि थालिने बताइएको छ। पहिलो चरणको कामपछि थप जग्गामा अरू कामका लागि ३ खर्ब रुपैयाँ लगानी रहने अनुमान गरिएको बोर्डले जानकारी दिएको छ ।
औद्योगिक पार्क निर्माणपछि चीनमा स्थापित बहुराष्ट्रिय कम्पनीहरू नेपाल आउने छन । चीनमा भएका सवारीसाधन, मोबाइल फोन तथा अन्य विद्युतीय सामग्री उत्पादन गर्ने कम्पनीहरू नेपाल आउने छन्।
एक किलोमिटर चौडाइ र लम्बाइ नौ किलोमिटर भएको क्षेत्रमा पार्क बनाउन प्रस्ताव गरिएको छ । पार्क बनाउन एक दशक लाग्ने छ । ४० वर्ष चिनियाँले नै पार्क सञ्चालन गर्ने र त्यसपछि नेपाललाई हस्तान्तरण गर्ने सहमति भएको बोर्डले जानकारी दिएको छ ।