काठमाडौं । त्रिशूली नदी बेसिनमा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माणाधीन त्रिशूली ३ बी २२० केभी हब सबस्टेसन आयोजनाको निर्माण ६० प्रतिशत सम्पन्न भएको छ । ट्रान्सफर्मर रहने स्थानको जग हालिएको छ भने कन्ट्रोल बिल्डिङ बनाउन सुरु भएको छ । त्रिशूली नदी किनारमा सब स्टेशनको सुरक्षाका लागि पर्खाल लगाउने काम अन्तिम चरणमा छ । सबस्टेसनमा प्रयोग हुने उपकरणहरुको उत्पादन भइरहेको र डेढ महिनाभित्रमा आयोजनास्थलमा आपूर्ति सुरु हुने छ ।
नेपाल विद्युत् प्राधिकरणका कायृकारी निर्देशक कुलमान घिसिङले नुवाकोटको किस्पाङ गाउँपालिका-५ पहिरेबेसीमा निर्माणाधीन सबस्टेसनको स्थलगत निरीक्षण गरी आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीलाई तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् ।
प्रसारण लाइन र सबस्टेसननको अभावमा जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सर्बसाधारणसमेत लगानी रहेका आयोजनाको विद्युत् खेर जाने सम्भावना देखिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको निर्देशकमा घिसिङ निर्माणस्थलको निरीक्षणमा गएका हुन् ।
घिसिङले निर्माणमा संलग्न आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग छलफल गरेका थिए । निर्माण कार्यको नियमित अनुगमन गर्ने बताउँदै उनले जनशक्ति थप्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।
‘यो सबस्टेसन एक वर्षभित्रमा बनाउन सकिएन भने चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन आयोजनाहरुको १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न नसकी विद्युत् खेर फाल्नुपर्ने अवस्था आउन सक्छ, यस्तो अवस्था आएमा प्राधिकरणले ती आयोजनालाई करौडौं रुपैयाँ पेनाल्टी तिर्नु पर्छ’, कार्यकारी निर्देशक घिसिङले निर्देशक दिँदै भने, ‘निर्माणका क्रममा आउन सक्ने सामाजिक, वित्तीय लगायतका समस्याको गाँठो फुकाइदिन्छौं, यस्तो संवेदनशील आयोजनाको काम निर्धारित समयमा सकिन्छ भनेर मात्रै हुँदैन, सबै पक्ष गम्भीर भई निर्माणलाई तीव्रता दिनुपर्छ ।’
सबस्टेसनको निर्माण आगामी पुसको दोस्रो साताभित्र (३१ डिसेम्बर २०१९) सक्ने लक्ष्य राखिएको छ ।
गत जेठमा केही स्थानीयले नियतवश विभिन्न माग राखीसबस्टेसन निर्माणमा अबरोध गरेका थिए । नाजायज माग राखी अवरोध गरेपछि आक्रोशित घिसिङले निर्माणस्थलमा जम्मा भएका स्थानीयलाई नाजायज माग राखी अवरोध गरेमा स्थानीय प्रशासनमार्फत पक्राउ गर्ने चेतावनी दिएका थिए । स्थानीयका जायज माग पूरा गर्न आयोजना सधैं तयार रहेको उल्लेख गर्दै नियतवश काम रोक्नेलाई नछोड्ने चेतावनी दिएका थिए । यसको प्रभाव सकारात्मक परी सबस्टेसन मात्रै नभएर त्यस क्षेत्रमा निर्माण भइरहेको अन्य प्रसारण लाइन निर्माणमा स्थानीयले अबरोध नगरेको आयोजना प्रमुख थर्कबहादुर थापाले बताए ।
त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने करिब ६ सय मेगावाटको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न सबस्टेसनको निर्माण गर्न लागिएको हो । आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी एवम् जर्मन विकास बैक, युरोपेली लगानी बैङ्कको सहुलितपूर्ण ऋण रहने छ । आयोजनाको अनुमानित लागत एक करोड ६० लाख अमेरिकी डलर रहेको छ ।
चिलिमे–त्रिशूली प्रसारण लाइनको प्रगति ४५ प्रतिशत
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको भौतिक प्रगति ४५ प्रतिशत भएको छ ।
आयोजनाले रसुवाको चिलिमेदेखि त्रिशूली ३ बी २२० केभी हबसम्म २७ किलोमिटर प्रसारण लाइन र चिलिममा सबस्टेसन निर्माण गरिरहेको छ । आयोजनाको सर्वे र डिजाइन सकिएको छ । टावरका उपकरणको उत्पादन भइरहेको छ ।
जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन यही प्रसारण लाइनमा जोडिनेछ ।
आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर डबल सर्किट र मैलुङबाट त्रिशूली ३ बी हबसम्म ८ किलोमिटर चार सर्किट निर्माण गर्नेछ ।
प्रसारण लाइनका ८० टावरमध्ये १५ ओटाको जग हाल्नका लागि खाल्डो खनिएको आयोजना प्रमुख केदार सिलवालले बताए ।
‘भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने छ, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुंगा गिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानु पर्ने अवस्था छ’, उनले भने । ठाउँठाउँमा पहिरो गएकाले कामलाई तिब्रता दिन नसकिएको उनले बताए ।
प्रसारण लाइनको आगामी फागुनको दोस्रो साताभित्र र चिलिमे हब सबस्टेसनकोनिर्माण आगामी पुसको दोस्रो साताभित्र सक्ने लक्ष्य राखिएको छ । त्रिशूली ३ बी हव सबस्टेसन र चिलिमे–त्रिशूली प्रसारण लाइन आयोजनाको ठेकेदार चिनियाँ कम्पनी पिङगाओ हो ।
३ करोड ५० लाख अमेरिकी डलर (करिब ३ अर्ब ५० लाख रुपैया“) अनुमानित लागत रहेको आयोजनामा नेपाल सरकार, जर्मन विकास बैङ्क र युरोपियन इन्भेस्टमेन्ट बैङ्क (ईआइबी)को लगानी रहनेछ ।