काठमाडौ । बिमा समितिले न्यूनतम पुँजी नपुर्याउने बिमा कम्पनीहरुलाई समय थप्ने संकेत गरेको छ । बिमा कम्पनीहरुको आग्रहमा समितिले पुँजी पुर्याउन समय थप गर्न लागेको हो ।
गत असारमा पनि पुँजी नपुर्याएपछि समितिले ७ दिनको म्याद दिएर ९ ओटा बिमा कम्पनीलाई स्पष्टीकरण सोधेको थियो । ९ ओटै कम्पनीले समितिमा स्पष्टीकरण बुझाएका छन् ।
सञ्चालक समितिमा छलफल गरेर निश्कर्षमा पुग्ने बिमा समितिका अध्यक्ष चिरन्जीवि चापागाईले बताए । बीमा कम्पनीलाई केही समस्या आएकाले पुँजी बढाउन समय थप्नुपर्ने देखिएको उनले बताए । कति समय थप्ने भन्ने उनले स्पष्ट पारेनन ।
एनएफआरएस लागु भएकाले प्रोभिजनिङ बढी गर्नुपरेको कारण प्रस्ताव बमोजिम सेयरधनीलाई बोनस सेयर दिन नसक्दा निर्धारित समयमा पुँजी पुग्न नसकेको बिमा कम्पनीहरुले समितिमा पेश गरेको स्पष्टिकरणमा उल्लेख गरेका छन् । अर्को हकप्रद सेयर जारी गरेर पुर्याउने प्रतिवद्धता जनाएका छन् ।
सबैले काम सुरु गरिसकेको देखिएको उनले बताए । बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले समय दिएमा ३ महिनाभित्र हकप्रद सेयर निष्कासन गरेर पुँजी पुर्याउने प्रतिवद्धता जनाएको उनले सुनाए । यो विकल्प सञ्चालक समितिमा प्रस्ताव गर्न लागेको उनले स्पष्टपारे ।
बिमा कम्पनीको आग्रहमा म्याद थप गर्न लागेको चापागाईंले जानकारी दिए । समितिले औपचारिक निर्णय नगरे पनि समय थप्नुको विकल्प नरहेको उनले स्पष्ट पारे । साधारणसभा गरेपछि पुँजी पुग्ने देखिएकाले समय थप गर्न लागिएको उनको भनाइ छ ।
जीवनतर्फ सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र राष्ट्रिय बिमा संस्थान छन् ।
यस्तै निर्जीवनतर्फ लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र सरकार स्वामित्वको राष्ट्रिय बिमा कम्पनी लिमिटेड छन् ।
पुँजी पुर्याउन नसकेका ती ९ वटै कम्पनीलाई स्पष्टीकरण सोधिएको अध्यक्ष चापागाईंले बताए । आगामी तीन महिनाभित्र ती ९ वटै कम्पनीहरुले समितिले तोकेको पुँजी पुर्याउने प्रतिबद्धता व्यक्त गरेपछि कारबाही नगरिएको उनले जानकारी गराए ।
समितिले २०७५ असार मसान्तसम्म जीवन बिमा कम्पनीलाई २ अर्ब तथा निर्जीवन बिमा कम्पनीलाई १ अर्ब रुपैयाँ न्युनतम पुँजी तोकेको छ । बिमा कम्पनीमध्ये सबैभन्दा बढी पुँजी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छ । नेपाल लाइफको पुँजी ५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।