काठमाडौं । भूकम्प र बाढीले क्षतिग्रस्त बनाएको माथिल्लो भोटेकोसी जलविद्युत् आयोजना कात्तिकदेखि सञ्चालनमा आउने भएको छ । कात्तिकदेखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको प्रवद्र्धक भोटेकोसी पावर कम्पनी प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिक्रमरत्न स्थापितले बताए ।
आयोजनाको ८० प्रतिशतभन्दा बढी काम सकिएको उनले जानकारी दिए । आयोजनाको ठेकेदार सिनो हाइड्रो कर्पोरेसन हो । भोटेकोसीले सिनोसँग आउँदो अक्टुबरसम्म काम सक्ने गरी ठेक्का सम्झौता गरिएको स्थापितले जानकारी दिए । हाल निर्माण काम अन्तिम चरणमा पुगेकाले ढिलोमा कात्तिकसम्म आयोजना सञ्चालनमा आउने स्थापितको भनाइ छ ।
आयोजनाको बाँध र विद्युतगृह नयाँ बनाइएको छ । आयोजना बनाउन झन्डै ७ अर्ब रुपैयाँ थप लगानी भएको छ । यसअघि आयोजना १४ अर्ब रुपैयाँमा निर्माण भएको थियो । नदीको बहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिको माथिल्लो भोटेकोसीको जडित क्षमता ४५ मेगावाट छ । सुख्खायाममा विद्युत् उत्पादन घटेर १२ मेगावाटमा हुने गरेको छ ।
आयोजनाबाट वार्षिक २९ करोड ३२ लाख युनिट बिजुली उत्पादन हुन्छ । आयोजना पुननिर्माणपछि जडित क्षमतामा कुनै असर नपरेको उनले बताए ।
विद्युतगृहको इलक्ट्रोमेकानिकल र जनेरेटर पूरै परिवर्तन गरी नयाँ जडान गरिएको स्थापितले बताए । आयोजना नै नयाँ भएको उनको दाबी छ । २०७२ को भूकम्पले पेनस्टक पाइपमा क्षति पुर्याएको थियो । पेनस्टक पाइप बनेपछि २०७३ साउनमा आएको बाढीले पुनः आयोजनाको बाँध संरचना पुर्नुका साथै विद्युतगृहमा क्षति पुर्याएको थियो ।
आयोजनाको तातोपानीको १० किलोमा रहेको बाँध पूरै क्षतिग्रस्त हुनुका साथै दुई ओटा ढोकासमेत बाढीले पुरिएको छ । कङ्क्रिट ढलानको बाँधको सडकपट्टिको कमजोर भूभागबाट बाढीले खोलेपछि हाल सोही ठाउँबाट नदी बगेको छ । आयोजना नेपाल र चीनको सीमानामा पर्छ ।
आयोजना सन् २००१ देखि सञ्चालनमा आएको हो । आयोजनामा तारा म्यानेजमेन्टको लगानी छ । ५ प्रतिशत अमेरिकाको हार्जा इन्टरनेसनल इंकको स्वामित्व छ ।