काठमाडौं । स्वदेशी उत्पादनहरुको प्रदर्शन र बजारीकरणसँगै प्रवद्र्धन गर्ने उद्धेश्यले सार्क च्याम्बर महिला उद्यमी परिषद् नेपाल (एससीडब्लूइसी)को नाइट भिजन कार्यक्रम सम्पन्न भएको छ ।
कोभिड–१९ को महामारी सुरु भएदेखि रोकिएको कार्यक्रमको मुख्य उद्धेश्य नेपालमा बनाइएका उत्पादनहरूको प्रदर्शन गर्ने, आफ्नै देशमा उपलब्ध गुणस्तरीय उत्पादनहरूको भावना प्राप्त गर्ने, स्थानीय उत्पादनलाई प्रोत्साहित र प्रबद्र्धन गर्दै मानिसहरुको सोच परिवर्तन गर्नु रहेको थियो ।
वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै कोभिड–१९ भाइरसको जोखिमबाट सबै जना बाँच्न आवश्यक छ भन्ने आवश्यकता औल्याइ कार्यक्रम आयोजना भएको हो । विभिन्न क्षेत्रका महिला उद्यमीहरूको प्रतितिनधित्व रहेको कार्यक्रममा सामाजिक दूरी कायम गर्दै बजारलाई २२ वटा स्टल राखिएको थियो ।
नाइट बजारमा घरको सजावटदेखि सुन्दर सामानसम्म, हस्तशिल्पित गहना, हातले बनाएको कश्मिरी स्कार्फ, स्वेटर, सल, विशेष हस्तशिल्पित रेशम, शिफन साडी र गरगहना, मैन बत्ती तथा अन्य टेबल रनर, म्याट, नेपालको प्रचलित लोकता कागज कपडा राखिएको थियो । साथै, अन्य कृषि उत्पादन, परम्परागत खाद्यान्न वस्तु जस्तै मस्यौरा, अचार, ताजा जैविक तरकारी, स्वास्थ्यसँग सम्बन्धित उत्पादनहरू र मसाजको माध्यमबाट हातको उपचार गर्ने जस्ता सेवा एउटै छानोमुनि उपलब्ध रहेको थियो ।
कार्यक्रममा उपाध्यक्ष सरोजिनी शेरचनको नेतृत्वमा उक्त संस्थाले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा धेरै कार्यक्रमहरू संचालन गर्दै आएको छ । राष्ट्रिय समृद्धिको माध्यमका रूपमा महिलालाई आर्थिक स्वतन्त्रताको महत्व सिकाउनका निम्ति निरन्तर कदम चाल्ने सार्क च्याम्बर महिला उद्यमी परिषद्को अभियान रहेको छ ।
दक्षिण एसियाली उद्यमी तथा उद्योगप्रति इच्छुक महिलाहरूको विकास गर्ने उद्देश्यले सन् २००१, मार्च २९ मा उक्त संस्थाको स्थापना भएको थियो । परिषद्ले सार्क उद्योग तथा बाणिज्य परिषद्को संरक्षणमा रहेर काम गर्दै आएको छ ।