काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इनर्जी डिङ्क्सलाई धमिलो पानीको संज्ञा दिएका छन् । ‘मेक इन नेपाल’–स्वदेशी अभियानको औपचारिक सुरुवात गर्दै प्रधानमन्त्री ओलीले धमिलो पानी ल्याएर बेच्दैमा देश समृद्ध नबन्ने बताएका हुन् ।
नेपाल उद्योग परिसंघको आयोजनामा भएको कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले विदेशबाट सामान आयात गरेर बेच्दा देशको आर्थिक उन्नति नहुने बताए । नेपालमा पर्याप्त मात्रामा पानी छ । त्यही पानीलाई प्रधोशन गरेर इनर्जी डिङ्क्स बनाउन उद्योगीलाई आग्रह गरे ।

‘नेपालमै उद्योग लगाउनुस्, दुई/चार जनाले भए पनि रोजगारी पाउँछन् । नेपालमा नपाउने कच्चा पदार्थ विदेशबाट ल्याउनुस्, तर देशमै फ्याक्ट्री खोल्नुस्,’ उद्योगीसामू ओलीले भने, ‘विदेशको उत्पादन बेच्न मात्रै उत्सुक नहुनुस् ।’
प्रधानमन्त्री ओलीले मेक इन नेपाल स्वदेशी अभियान आफ्नो सामान बेच्ने माध्यम मात्रै नबनाउन उद्योगीसँग समक्ष आग्रह गरे । आफ्नो भनेको आफ्नै हो भन्ने विज्ञापनको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले भने ‘सबै उत्पादन आफ्नो भनेको आफ्नो हुँदैन्, ।’ उनका अनुसार मेक इन नेपाल स्वदेशी सामान बिक्री गर्ने अभियान मात्रै बनाउनु हुँदैन ।
विदेशी उत्पादन बेच्ने थलोको रुपमा मात्रै नेपाललाई नचिनाउन प्रधानमन्त्री ओलीले आग्रह गरे । ‘नेपालमा लगानीको धेरै सम्भावना छ । जुन क्षेत्रमा लगानी गर्दा पनि हुन्छ । आफू एक्लै लगानी गर्न सक्नुहुन्न भने विदेशी पार्टनर ल्याउनुस्,’ ओलीले भने, ‘तर, देशमै उत्पादन गर्न थाल्नुस्, यसले मात्रै समृद्ध नेपाल, सुखी नेपाली सरकारको सपना साकार हुन्छ ।’
प्रधानमन्त्री ओलीका अनुसार आम्दानीको स्रोत रेमिट्यान्स भएको र सपिङ गर्ने ठाउँ सुपरमार्केट बन्नु दुखद हो । नेपालीको यो कल्चरलाई परिवर्तन गर्नुपर्ने बताए । सरकारले आयात व्यापारलाई प्रोत्साहन नगर्ने बताए । सरकारको प्रमुख प्रथामिकता भनेको निर्यात व्यापार नै हो । आयातलाई कुनै हालतमा बढवा नदिने बताए ।

सरकारले देशभर औद्योगिक ग्राम बनाउन लागेको र उद्योगीले जुन ठाउँमा उद्योग लगाउन चाहन्छन्, त्यही ठाउँ तयार भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए ।
‘सरकारले एकैपटक देशभरका ७ वटै क्षेत्रमा औद्योगिक ग्राम बनाउने कार्य थालनी गरेको छ,’ कार्यक्रममा भट्टले भने, ‘देशमा लगानीको वातावारण बन्दै गएको र सरकार पनि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढिरहेको छ ।’
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले उद्योगीहरुले देशमा रोजगारी सिर्जना गर्न चाहेको बताए । ‘जीडीपीमा उत्पादनमुलकको योगदान निरन्तर घट्दोक्रममा रहेकाले त्यसलाई बढाउनु अहिलेको चुनौति छ,’ मोरले भने, ‘उद्योगीहरु नयाँ-नयाँ उद्योग खोल्न चाहे पनि सोचेअनुरुप नीति नियमले सहयोग गरेको छैन ।’
परिसंघका प्रमुख आर्थिक सल्लाहकार डा. विश्व पौडेलले अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान खुम्चिदोक्रममा रहेको बताए । ‘अर्थतन्त्रको दरिलो जग भनेकै उद्योग हो,’ उनले भने, ‘तर, नेपालका आर्थिक नीतिहरु उद्योग क्षेत्र फस्टाउने भन्दा पनि आयातलाई प्रोत्साहित गर्ने खालका छन् । यसलाई सरकारले संशोधन गर्नुपर्छ ।’

५ वर्षमा ५ खर्बको वस्तु निर्यात लक्ष्य
परिसङ्घले उत्पादन र खपत बढाउने लक्ष्यका साथ विभिन्न सातवटा आधार निर्धारण गर्दै ‘मेक इन नेपाल अभियान’ शुरु गरेको हो । त्यसमा उत्पादनतर्फ नेपाली उद्योगका लागि सहज व्यापार व्यवसायको वातावरण तय गर्ने, आयात प्रतिस्थापन गर्ने, पूर्वाधारमा पूँजी लगानी बढाउने र सेवा क्षेत्रमा आधुनिकीकरण गर्ने विषय समावेश छ ।
यस्तैगरी खपतका आधारमा स्वदेशी वस्तुको उपभोग, स्वदेशी वस्तुको प्राथमिकता र स्थानीय उत्पादनको बढावाका लागि बजार विस्तार गर्ने विषय समावेश छ ।
परिसङ्घको यसअभियानमार्फत वार्षिक १ हजारभन्दा बढी नयाँ उद्योग दर्ता गर्ने, सन् २०३० सम्ममा नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उद्योगको योगदान २६ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । यस्तै आगामी पाँच वर्षमा झण्डै ५ खर्ब रुपैयाँ बराबरको निर्यात गर्ने लक्ष्य राखिएको छ ।
![]()
![]()
![]()
![]()