काठमाडौं। तपाई हामी धेरैलाई कमै थाहा भएको विषय हो, सुरुका दिनमा गाडी बोकेर नेपालमा ल्याइएको थियो। धेरैलाई थाहा नहुन सक्छ नेपालमा कुन गाडी पहिला आएको? कुन कुन गाडीहरु धेरैले चढेका थिए?
अझ भनौँ, राणा कालमा कस्ता गाडीहरु नेपालमा गुड्दथे भन्नेबारे। इतिहास बनिसकेको राणा कालीन र राजतन्त्र कालीन समयमा चलेका सवारी साधानहरु कस्ता हुन्थ्ये? र कस्ता थिए? भन्ने जानकारी धेरैलाई महत्वपूर्ण हुन्छ। अझ, गाडी पारखीका लागि यो जानकारी फलदायी हुन सक्छ।
यदि, तपाईहरु जो कोही गाडीको इतिहास बुझ्न चाहनुहुन्छ भने नाडा अटो शोमा जानुस्। त्यहाँ अहिले इतिहास झल्काउने भिन्टेज गाडीहरु प्रर्दशनीमा राखिएको छ। जुन गाडी हेरेर इतिहासबारे राम्रोसँग ज्ञान लिन सकिन्छ।
मंगलबारदेखि जारी १७औँ संस्करणको नाडा अटो शो २०२५ मा सबै उमेर समूहका दर्शकलाई आकर्षित गर्न भिन्टेज कारदेखि उड्ने कार र रोबोटसमेत प्रदर्शनीमा राखिएको छ। यस वर्ष नाडाले अघिल्ला संस्करणभन्दा फरक र समावेशी बनाउने उद्देश्यले गाडीको वर्तमान, विगत र भविष्यको झल्को दिने प्रविधिहरू एकै ठाउँमा समेटेको छ।
नाडाका अध्यक्ष करण चौधरीका अनुसार यस पटकको प्रदर्शनीले हरेक पुस्ताका मानिसलाई जोड्ने प्रयास गरेको छ। ‘नाडा एउटा समावेशी संस्था हो। हामीले बच्चाका लागि प्रविधिको प्रतिनिधित्व गर्ने रोबोट्स राखेका छौँ। युवाका लागि आधुनिक र उड्ने कारहरू छन्,’ अध्यक्ष चौधरी भन्छन्, ‘तर, वृद्धा पुस्ताका लागि के दिने भन्ने सोच्दा उनीहरूलाई आफ्नो समयका गाडीहरू देख्दा खुशी लाग्ने ठानेर हामीले भिन्टेज कारको प्रदर्शनी गरेका हौँ।’

प्रदर्शनीले गाडी प्रेमीहरूका साथै आम दर्शकलाई उत्तिकै आकर्षित गरेको छ। यसले अटो शोलाई केबल व्यापारिक मेला नभई एक ऐतिहासिक र शैक्षिक मञ्चको रूपमा स्थापित गरेको छ।
नाडाले प्रदर्शनीमा राखिएका भिन्टेज गाडी जाउलाखेल ग्रुप अफ कम्पनिजका राजबहादुर शाहका कलेक्सन रहेको अध्यक्ष चौधरी बताउँछन्। ‘हामीले यहाँ राखेको सबै गाडी उहाँको म्युजिएमबाट ल्याएको हो,’ अध्यक्ष चौधरी भन्छन्, ‘भिन्टेज गाडी प्रदर्शनी गर्न हामीलाई राजबहादुर शाहले सहगोग गरेको हो। सबै गाडी उहाँको म्युजियममा उपलब्ध छ।’ नाडामा राखिएका भिन्टेज गाडी कुन मोडल हो, कहिले उत्पादन भए, कति उत्पादन भए भन्ने सबै विवरणसहित राखेको अध्यक्षको भनाइ छ।
जसमा फोर्ड मोडल ए, फोर्ड मोडल बी, मर्सिडिज १९० एसएल, मर्सिडिज २३० एसएल, फोर्ड मुस्ताङ र १९६० च्येस्लर न्यूयोर्कर जस्ता गाडीहरूले अवलोकनकर्ताको ध्यान खिचेका छन्। प्रदर्शनीमा प्रत्येक गाडीको मोडल, उत्पादन वर्ष र संख्यासहितको विस्तृत जानकारी पनि उपलब्ध गराइएको छ।
नाडा अटो शोले नयाँ गाडीहरूको जानकारी मात्रै नभएर नेपाली अटोमोबाइल इतिहासको महत्वपूर्ण हिस्सा पनि प्रस्तुत गरेको छ। यसले नयाँ पुस्तालाई गाडीको विकासबारे जानकारी दिई पुरानो पुस्ताका लागि पुरानो यादलाई पनि ताजा बनाएको छ।

वर्षौं पुराना यी भिन्टेज कारको प्रदर्शनीले नयाँ पुस्तालाई अटोमोबाइलको इतिहासबारे जानकारी दिने र पुराना गाडीहरूको महत्व बुझाउन मद्दत पर्याउने अपेक्षा गरिएको छ। यसले गाडी प्रेमी र आम मानिसहरू दुवैलाई आकर्षित गरेको छ।
नाडा अटो शो २०२५ मा प्रदर्शन गरिएका क्लासिक कारहरू
फोर्ड मोडल ए
नाडा अटो शो २०२५ मा प्रदर्शनीमा राखिएको फोर्डका गाडीहरु राणाकालमा नेपालमा बोकेर ल्याइएका थिए। नाडामा राखिएको फोर्डको मोडल ए करिब सय वर्ष पुरानो गाडी हो। फोर्ड मोडल ए सन् १९२८ मा उत्पादन भएको हो। फोर्ड मोडल ए उत्पादन भएको पहिलो वर्ष ६ लाख ३३ हजार ५९४ गाडी उत्पादन भएका थिए।
यो गाडी पहिलो पटक सार्वजनिक हुँदा एक हप्तामै एक करोड बढीले अवलोकन गरेका थिए। फोर्डको नयाँ गाडी हेर्नका लागि धेरै भिड हुँदा ट्राफिक व्यवस्थापन गर्न प्रहरी खटाउन परेको थियो। फोर्ड मोडल ए पहिलो विश्वयुद्धपछि यो स्टाइलिस गाडीको रुपमा सडकमा कुद्न थालेको हो।
पहिलो वर्ष ६ लाख ३३ हजार ५९४ गाडी उत्पादन भएका थिए। सन् १९२९ मा मोडल ए गाडी उत्पादनका लागि छुट्टै उद्योग खोल्नु परेको थियो। त्यसपछि कम्पनीले दैनिक ९०० युनिट गाडी उत्पादन गथ्र्यो। यो गाडी प्रतिघण्टा १०५ किमी कुद्न सक्छ। यसमा ३ वटा म्यानुअल गियर रहेको छ। पहिलो विश्वयुद्धपछि यो स्टाइलिस गाडीको रुपमा सडकमा कुद्न थालेको थियो।
फोर्ड मोडल बी
नाडा अटो शो २०२५ मा प्रदर्शनीमा राखिएको फोर्ड मोडल बी पनि राणाकालमा बोकेर नेपाल ल्याइएको गाडी हो। फोर्ड मोडल बी सन् १९३३ मा उत्पादन भएको गाडी हो। फोर्डको मोडल ए को सफलतापछि कम्पनीले फोर्डले नयाँ सिरिजको रुपमा मोडल बी उत्पादन शुरु गरेको थियो।

फोर्डको मोडल बी उत्पादन भएको वर्ष करिब ३ लाख ३४ हजार ९६९ युनिट बिक्री भए। ३.३ लिटर इन्जिनको यो गाडी पावर र पर्फर्मेन्स बढेर आएको थियो। एरोडोमिक स्टाइस, लामो ह्वीलबेस गाडी मध्यम वर्गका परिवार चढ्न सक्ने मूल्य रहेको थियो।
मर्सिडिज १९० एसएल
नाडा अटो शो २०२५ मा प्रदर्शनीमा राखिएको अर्काे भिन्टेज कार मर्सिडिजको १९० एसएल हो। यो गाडी सन् १९५६ मा राजा महेन्द्रको पालामा नेपाल आएको गाडी हो। उक्त कार राजा महेन्द्रको स्वामित्वमा थियो। जसलाई पछि तुलसी गिरीलाई दिइएको थियो।
तुलसी गिरी ती कार विभिन्न व्यक्तिहरूलाई बिक्री गरेका थिए। यी दुई कन्भर्टिबल कारहरू अन्तर्राष्ट्रिय क्लासिक कार बजारमा अत्यधिक मूल्यवान् र सम्मानित मानिन्छन्। दुवै कारहरूको अधिकतम गति २०० किमी÷घण्टा भन्दा बढी छ।
मर्सिडिजको १९० एसएल मोडल सन् १९५६ मा सार्वजनिक भएको थियो। २ वटा ढोका भएको यो विलाशी कार १९५५ देखि १९६३ सम्म उत्पादन भएको थियो। १९५४ मा प्रोटोटाइपको गाडी न्युयोर्क अटो शोमा देखाइएको थियो। यो गाडी जम्मा २५ हजार ८८१ युनिट उत्पादन भएको थियो। स्पोर्टी लुक्समा १.९ इनलाइन इन्जिनसँगै टिवन सोलेक्स, कार्बोरेटरसहित आएको थियो।
मर्सिडिज २३० एसएल
नाडामा प्रदर्शनी गरिएको भिन्टेज कारमध्ये मर्सिडिजको अर्को २३० एसएल मोडल रहेको छ। यो गाडी पनि राजा महेन्द्रको पालामा नेपाल आएको गाडी हो। प्रदर्शनीमा राखिएको मर्सिडिजको सेतो २३० एसएल लाई ‘प्यागोडा’ पनि भनिन्छ।
यो गाडीको उत्पादन १९६३ देखि १९६७ सम्म १९ सय ८३१ युनिट भएको थियो। यो गाडी सन् १९६३ मा जेनेभा मोटर शोमा सार्वजनिक गरिएको थियो। यो मोडल मर्सिडिजका अघिल्ला मोडललाई विस्थापित गर्दै धेरै मानिसको पहुँचमा पुर्याउने उद्देश्यले यसको डिजाइन गरिएको हो। गाडीको इञ्जिन २.३ लिटरमा उपलब्ध छ। यसमा २ जना मात्रै यात्रा गर्न मिल्ने छ। यसको अधिकतम गति २०० किमी/घण्टा भन्दा बढी छ।
फोर्ड मुस्ताङ
नाडा शोमा प्रदर्शनी गरिएको भिन्टेज कारमा फोर्ड मुस्ताङ पनि हो। यो कार कुनै दूतावासको थियो। यसलाई निम्बस समूहका आनन्द बगरियाले ल्याएका थिए। जो नेपालको शार्क ट्यांकका कारण पनि परिचित छन्। त्यो बेलाको यो कार रेसिङ कार मानिन्थ्यो। फोर्ड मुस्ताङ सन् १९६७ मा सार्वजनिक भएको थियो।

गाडीको बडी फराकिलो, पावरफुल इञ्जिन अप्सन र इन्टेरियर पुनः डिजाइन गरिएको थियो। यो गाडी क्लासिक अमेरिकन मसल कार डिजाइनको रुपमा चर्चित थियो। आक्रामक डिजाइनमा ल्याइएको गाडीको लम्बाई र चौडाई बढी छ। सन् १९६७ मा मात्रै यो गाडी ३ लाख ५० हजार उत्पादन भएको थियो। पावरफुल भी ८ इञ्जिनसहित गाडी बजारमा आएको थियो।
अस्टिन प्रिन्सेस डीएम४ भान्डेन प्लासः
नाडामा राखिएको अस्टिन प्रिन्सेस अस्टिन प्रिन्सेस डीएम४ भान्डेन प्लास जवालाखेलका मधुकर एसजेबी राणाको थियो। त्यो बेला दुई वटा कारहरू आएका थिए। एउटा अझै दरबारको ग्यारेजमा राखिएको छ।
सन् १९५० को दशकमा बेलायतमा लक्जरी गाडीको रुपमा चर्चित अस्टिन प्रिन्सेस ३ हजार युनिट मात्रै उत्पादन भएको छ। अस्टिन प्रिन्सेस डीएम ४ लामो ह्वील बेसमा रहेको थियो। यो गाडी चढ्ने मानिस प्रतिष्ठित ठान्थे। ४.० इनलाइन ६ सिलिन्डर भएको गाडी बिलासिताको लागि खरिद गरिन्थ्यो।
यो गाडीले १२५ हर्स पावर जेनेरेट गथ्र्यो। यसको अधिकतम गति १३८ किलोमिटर प्रतिघण्टा हो । बेलायती दूतावास, सरकारी अधिकारी, राजपरिवार र केही धनाढ्यले मात्रै प्रयोग गर्थे।
मर्सिडिज २८० एस
प्रदर्शनीमा राखिएको मर्सिडिज २८० एस सन् १९७० मा नेपाल आएको गाडी हो। प्रदर्शनीमा राखिएको सेतो मर्सिडिज २८० एस अन्नपूर्ण होटलको शाही परिवारको स्वामित्वमा थियो। पछि धेरै पटक यसको मालिक परिवर्तन भयो। यो गाडी त्यही समयमा आयात गरिएको थियो। जब सिक्किमका राजाले पनि सोही मोडलको मर्सिडिज मगाएका थिए।

मर्सिडिजले सन् १९६८ मा पहिलो पटक २८० एस मोडल सार्वजनिक गरेको थियो। २.८ लिटरको इञ्जिनले १३८ हर्सपावर जेनेरेट गर्छ। १९७२ सम्म गाडी उत्पादन भएर बन्द भयो। कुल ७४ हजार ६७७ गाडी उत्पादन भए। १९७० मा २७ हजार युनिट उत्पादन भएका थिए। १९६० र १९७० को सेडान सेगमेन्टमा बेञ्चमार्कको रुपमा रहेको थियो।
१९६० च्येस्लर न्यू योर्कर
सन् १९६० को रातो क्राइसलर न्यू योर्कर पनि नाडामा प्रदर्शनीमा राखिएको छ। यो पनि एक समयमा दरबारको गाडी थियो र सम्भवतः स्विट्जरल्याण्डबाट ल्याइएको थियो। यसमा ६८०० सीसीको ८ सिलिन्डर इञ्जिन छ। जुन सम्भवतः नेपालको सबैभन्दा ठूलो इन्ञ्जिन भएको कार हो। यसले एक किलोमिटर गुडाउन २ लिटर पेट्रोल खपत गर्छ।
अमेरिकन कम्पनी च्येस्लर कर्पोरेसनले न्यु योर्कर गाडी १९४० देखि १९९६ सम्म उत्पादन गरेको थियो। यो गाडी करिब ५६ वर्ष फ्लागसिप मोडलको रुपमा उत्पादन भएको थियो। जुनियर सेडानको रुपमा १९३८ मा यो तयार गरिएको थियो। च्येस्लर १९६० मा ४० हजार उत्पादन भएका थिए। यसमा एचईएमआई भी ८ इञ्जिन रहेको छ।
सिंगर एबी रोडस्टर
बेलायतको सिंगर मोटर्स लिमिटेडको एबी रोडस्टर भेन्टज गाडीको रुपमा नाडा अटो शोमा शोकेश गरिएको छ। सन् १९३९ मा यो गाडी लञ्च गरिएको थियो। दोस्रो विश्वयुद्धका कारण गाडी उत्पादन केही समयमै बन्द भयो। १.१ लिटर ४ सिलिण्डर इञ्जिनको गाडीमा ४ वटा स्पिड म्यानुअल रहेका थिए। यो दुई वटा ढोका भएको गाडी हो।