काठमाडौं । ‘गोरखा भूकम्प’बाट प्रभावित चार लाख २४ हजार ९७७ लाभग्राहीले अनुदान लिई निजी आवास निर्माण सम्पन्न गरेका छन् । थप दुई लाख १४ हजार ३१४ लाभग्राहीका घर पुनःनिर्माण भइरहेका छन् ।
पुनःनिर्माण सम्पन्न र बनाउँदै गरेकासहित कुल छ लाख ४४ हजार २९१ घर पुनःनिर्माणको प्रक्रियामा छन्, जुन पुनःनिर्माण गर्नुपर्ने घरको सङ्ख्याको ८३ प्रतिशत हो । अनुदान सम्झौता गरेका लाभग्राहीको सङ्ख्या सात लाख ७३ हजार ४४७ छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू आर्थिक वर्षभित्रै निजी आवास पुनःनिर्माणको मुख्य कार्य सम्पन्न गर्ने बताए । “गुनासा, जोखिममा परेका वर्ग र बस्ती स्थानान्तरणमा अर्को आर्थिक वर्षमा पनि कम हुन सक्छ, अरु सबै यही आर्थिक वर्षमै सम्पन्न गर्छौँ”,उनले भने ।
प्राधिकरणका सहसचिव एवं प्रवक्ता पीताम्बर घिमिरेका अनुसार अनुदान सम्झौता गरेकामध्ये सात लाख ६५ हजार २२१ ले पहिलो किस्ता बुझेका छन् भने पाँच लाख ९९ हजार ४३९ ले दोस्रो किस्ता बुझिसकेका छन् । तेस्रो किस्ता बुझ्ने लाभग्राहीको सङ्ख्या चार लाख ७४ हजार ११९ छ ।
प्राधिरकणका अनुसार पुनःनिर्माण भएका घरमध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकमा छन् । त्यहाँ ६७ हजार ८३४ घर पुनःनिर्माण भएका छन् । नुवाकोटमा ५२ हजार ६१३, धादिङमा ४८ हजार ४५४, दोलखामा ४४ हजार ५३३ र गोरखामा ४४ हजार २३१ घर पुनःनिर्माण भइसकेका छन् ।
भूकम्पबाट कम प्रभावित जिल्लामा पनि निजी आवास पुनःनिर्माण सम्पन्न हुने क्रम तीव्र बनेको छ । कम प्रभावित जिल्लामध्ये तनहुँमा सबैभन्दा धेरै १० हजार ५२५ घर पुनर्निर्माण भएका छन् ।
जिल्लागत रुपमा पुनःनिर्माण सम्पन्न भएका घरको सङ्ख्या यसप्रकार छः
सिन्धुपाल्चोक – ६७,८३४
नुवाकोट – ५२,६१३
धादिङ – ४८,४५४
दोलखा – ४४,५३३
गोरखा – ४४,२३१
काभ्रेपलाञ्चोक – ३०,८७७
रामेछाप – ३०,७११
ओखलढुङ्गा – १५,७७२
मकवानपुर – १३,०७०
सिन्धुली – १२,५८२
काठमाडौं – ११,५४२
रसुवा – १०,४१८
तनहुँ – १०,५२५
भक्तपुर – ८,४२०
ललितपुर – ४,२१६
लमजुङ – ३२००
चितवन – २,९८२
खोटाङ – २,९२८
सोलुखुम्बु – २,३०२
पाल्पा – १,४३५
भोजपुर – १,२६८
धनकुटा – १,२०३
बागलुङ – ८,८२
स्याङ्जा – ७०७
पर्वत – ६७६
नवलपरासी – ६२०
गुल्मी – ३२७
कास्की – ३२४
म्याग्दी – २७१
अर्घाखाँची – ५४
निजी आवास पुनःनिर्माणका लागि लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राही सूचीबाट हटाउने प्रक्रिया सुरु भएको छ । त्यस्तै २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिने पनि लाभग्राहीको सूचीबाट हट्ने छन् ।
लाभग्राहीमा सूचीकृत भए पनि करिब ५७ हजारले अनुदान सम्झौता गरेका छैनन् । त्यस्तै अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीको सङ्ख्या साढे पाँच हजार छ ।