विराटनगर । गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैकले ल्याएको मौद्रिक नीतिलाई निजी क्षेत्रले आत्मासाथ गरिदिएका कारण महामारी लगतै आर्थिक क्षेत्रमा सुधार आएको बताएका छन् ।
उद्योग संगठन मोरङको ४८ औ वार्षिक साधारण सभालाई शुक्रबार विराटनगरमा सम्बोधन गर्दै उनले कोभिड १९ पछि आपसी सहयोगका कारण चाँडै आर्थिक सुधार सम्भव भएको बताएका हुन ।
कोभिड १९ महामारीको कारण निम्तिएको बन्दाबन्दी (लकडाउन) को समयमा व्यवसायीहरुबाट कसरी ऋण तिर्ने ? कसरी किस्ता बुझाउने ? भन्दै आत्माहत्या गर्ने सम्मका एसएमएस आफूलाई आएको उनले बताए । ‘भएको सबै सम्पत्ति बैंकमा छ । मत आत्माहत्या गर्नुपर्ने अवस्थामा पुगेको छु भन्ने सम्मका एसएमएस आउने गर्थेे,’–उनले भने ।
कोरोना महामारीका बेला मौद्रिक नीति बनाउन निकै चुनौति रहेको अवस्थामा सहयोग गरेको भन्दै गभर्नर अधिकारीले निजि क्षेत्रको प्रसंशासमेत गरे । नीति बनाउन मात्र नभएर त्यसको कार्यान्वयनमा पनि निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उनले सुनाए । निजी क्षेत्रले मौद्रिक नीतिलाई कार्यान्वयनमा सहयोग गरेको जानकारी दिए ।
मौद्रिक नीतिले व्यवसायीलाई १० देखि २० प्रतिशतसम्म कर्जा थप्नसमेत सुविधा दिएको कारणले व्यवसायीलाई व्यवसायअघि बढाउन सहयोग पुगेको उनले बताए । ‘सरकारले गर्न सक्ने्सम्मको सबै सहयोग गरेको हो,’ उनले भने ‘निजी क्षेत्रले पनि त्यसको भरपुर प्रयोग गरेर त्यसलाई सफल बनाई दियो ।’
कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले उद्योगीलाई प्रोत्साहित गर्ने भने पनि सरकारी निकायमा त्यस्तो व्यवहार पाउन नसक्ने गुनासो गरे । उनले उद्योगी, व्यापारीलाई अझै पनि दुई नम्बरी, चोर र फटाहको रुपमा हेर्ने गरेकोमा दुःख व्यक्त गरे । उनले सबै भन्दा बढी देशको समृद्धिमा सहयोग गर्ने क्षेत्रलाई सम्मान गरिनु पर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले महासङ्घको आगामी १० वर्षे कार्यनीतिअनुसार मुलुकको बजेट १०० अर्ब डलरको अर्थतन्त्र र २२ लाख नयाँ रोजगारी सिर्जना गर्नु रहेको धारणा राखे ।
अध्यक्ष गोल्छाले कोभिड १९ पछि नेपालको अर्थतन्त्रमा धेरै सुधार आएको बताए । उनले केही क्षेत्रबाहेक अधिकांश क्षेत्र अर्थिक रुपमा तङग्रीसकेको उनले जानकारी दिए कोभिडपछि निजि क्षेत्रको आर्थिक गतिविधिमा सुधार आउनुमा राष्ट्र बैंकले लिएको मौद्रिक नीतिका कारण रहेको उनले स्पष्टपारे ।
देशको समृद्धिको लागी भिजन पेपर बनाएर सरकारसँग सहकार्य गरेर अगाडी बढने तयारी भइरहेको अध्यक्ष गोल्छाले सुनाए । कार्यक्रममा अध्यक्ष गोल्छाले निजिक्षेत्र एउटै सोचको साथ अगाडी बढनु पर्ने आजको आवश्यकता रहेको जिकिर गरे ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर, नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले कार्यक्रममा सम्बोधन गरेका थिए ।