काठमाडौं । तत्काल ब्याजदर नबढ्ने संकेत देखिएको छ । केही बैंकहरुले निक्षेपको ब्याजदरमा केही वृद्धि गरे पनि ऋणको ब्याजदर कुनै असर नगर्ने बताएका छन् ।
‘अहिले ऋणको ब्याजदर बढाउने अवस्थामा कुनै पनि बैंक छ्रैनन्,’ नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले भने, ‘चैतमा धेरै बैंकको आधारदर घट्नेवाला छ । अहिलको भन्दा सस्तो ब्याजदरमा ऋण पाउने सम्भावना बढेका बेला बढ्ने कुरै भएन ।’
बजारमा लगानीयोग्य रकमको अभाव हुन थालेको र ऋणको ब्याज बढ्न सक्ने आँकलनका समाचारहरु बाहिरिए पनि त्यसमा कुनै सत्यता नभएको उनले जानकारी गराए । ‘तत्कालका लागि ऋणको ब्याज बढ्दैन्,’ पाण्डेले क्यापिटल नेपालसँग कुराकानी गर्दै भने, ‘सधैभरी यही अवस्था रहन सक्दैन् । तर तत्काल ब्याजदर बढ्दैन । बरु घट्छ ।’
उनले ऋण लिएर व्यवसाय गर्नेका लागि सबैभन्दा अनुकूल समय अहिले भएको बताए । ‘यति सस्तो ब्याजमा ऋण पाउनु भनेको व्यवसाय गर्नेका लागि अनुकूल वातावरण तयार हुनु हो,’ उनले भने, ‘ठूला बैंकको अझै आधार घट्ने भएकाले अहिले अझै ब्याज ओरालो लाग्न सक्छ ।’
अहिले केही बैंकले निक्षेपको ब्याजदरमा केही वृद्धि गरेका छन् । यसैलाई आधार बनाएर कर्जाको ब्याजदर पनि बढाउन खोजिएको भन्ने आंशका गरेका हुन् । तर, कर्जाको ब्याजदर तत्काल नबढ्ने बैंकरहरु बताउँछन् ।
२७ वटा वाणिज्य बैंक मध्ये ८ ओटा बैंकले निक्षेपको ब्याजदर थोरै वृद्धि गरेका छन् । बैंकले निक्षेपको ब्याज बढाएकाले अब कर्जाको ब्याज पनि बढ्न भनेर अनुमान लगाइएको हो ।
बैंकहरुले चैतको आधारदर समेत घटाइसकेका छन् । गत पुसमा बैंकहरुको आधार ब्याजदर ५.७६ देखि ८.४७ प्रतिशत थियो । माघमा घटेर ५.५८ देखि ७.७९ मा झरेको थियो ।
एकातिर सरकारले पुँजीगत खर्च बढाउने समय आइसकेको छ भने अर्को तिर निर्माण व्यवसायीलाई सरकारले तिर्नुपर्ने रकम पनि भुक्तानी गर्ने तयारी थालेको छ । निर्माण व्यवसायीको भुक्तानी दिने बित्तिकै बजारमा ठूलो मात्रामा तरलता आउने बैंकरहरु बताउँछन् ।
अब तीन महिनाका लागि लगानीयोग्य रकमको अभाव नहुने बैंकरहरुको अनुमान छ । हाल बैंक तथा वित्तीय संस्थाहरूमा करिब ४० अर्ब रुपैयाँ हाराहारी अधिक तरलता रहेको नेपाल राष्ट्र बैंकले बताएको छ ।