काठमाडौँ । मेगा बैंक नेपालले गागलफेदी यातायात प्राइभेट लिमिटेडद्वारा संचालित यात्रुबाहक बसहरुमा क्युआर कोड सुरू गरेकाे छ ।
साे बैंक र गागलफेदी यातायात प्रालिबीच विशेष समारोहबीच क्युआर कोडबाट भाडा भुक्तानी ब्यवस्थाको सुरु गरेको हो ।
साे कार्यक्रममा बैंकका प्रमुख संचालन अधिकृत राजेश शर्माले मेगा बैंकले ‘हलोदेखि हाइड्रोसम्म’ लगानी गर्ने जानकारी दिँदै स्वास्थ्य, कृषि, महिला उद्यमी, यातायात, शिक्षा र घर लगायतका लागि सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
यसैगरी, मेगा बैंकका कार्ड तथा वैकल्पिक च्यानल विभागका प्रमुख विश्व सिंहले क्युआर प्रणालीबाट भाडा लिँदा समयको बचत, नगद चुहावट नहुने र पारदर्शी हुने बताए ।
कार्यक्रममा गागलफेदी यातायात प्रालिका संचालकहरु बद्रिबहादुर खड्का, नारायण खड्का, कुमारध्वज खड्का, आनन्द खड्का तथा अन्य सेयरधनीहरुको उपस्थिति थियो । गागलफेदी यातायातले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-१ सातघट्टेबाट ब्रम्हखेल, डाँछी, थली, जोरपाटी, चाबहिल, गौशाला, ज्ञानेश्वर, डिल्लीबजार, बागबजार हुँदै रत्नपार्कसम्म सेवा दिँदै आएको छ ।