विराटनगर । सरकारले निजी क्षेत्रमा कार्यरत मजदुरहरूका लागि विभिन्न योजनासहित ३ वर्षअघि ल्याएको सामाजिक सुरक्षा कोषप्रति मजदुरहरूले गुनासो गरेका छन् ।कोषको कार्यविधिको दोस्रो संशोधनपछि विराटनगरमा भएको उद्योगी/व्यापारी, मजदुर र कोषबीचको त्रिपक्षीय अन्तरक्रियामा उनीहरूले गुनासो गरेका हुन् ।
अन्तरक्रियामा सहभागी मजदुर नेताहरूले कोषको विषयमा मजदुरहरू अझै अनभिज्ञ रहेको जिकिर गरेका थिए । नेपाल ट्रेडयुनियन महासंघका किशोर धमलाले कोषको विषयमा उद्योगीहरूलाई प्रष्ट बनाउनुपर्ने बताए । उनले कर्मचारी सञ्चय कोषमा जम्मा भएको आफ्नो रकम लिन जाँदा मृत्यु भएको वा राजीनामा पत्र माग्ने गरेको बताए ।
सामाजिक सुरक्षा कोष स्थापना भएयता पटक–पटक छलफल भए पनि सुनसरी मोरङ औद्योगिक करिडोरका धेरै उद्योगहरू कोषमा सहभागी नभएको उनले बताए ।
मजदुर नेता अनिल पोखरेलले सामाजिक सुरक्षा कोषको विषयमा मजदुरमा अन्योलता रहेको बताए । उनले कोषमा सहभागिता जनाउन नचाहने श्रमिकहरूलाई के गर्ने भन्दै प्रश्न गरेका थिए ।
प्रदीप निरौलाले एउटा उद्योग छाडेर आएको मजदुरलाई राख्दा नियुक्ति पत्र मिति र कोषको मितिमा फरक पर्ने बताए । कोषले १५ गतेभित्र अघिल्लो महिनाको रकम दाखिला गर्नुपर्ने व्यवस्था अव्यावहारिक भएको उनीहरूले बताएका छन् ।
उद्योग संगठन मोरङ र मोरङ व्यापार संघसँगको सहकार्यमा अन्तरक्रिया गरेको थियो । अन्तरक्रियामा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले कोषको विषयमा अस्पष्टता रहेकाले सहभागी हुन कठिन भइरहेको जिकिर गरे । कोषको उद्देश्य राम्रो हँुदाहुँदै पनि यस सम्बन्धमा आएका सूचना र समाचारले अन्यौलता सिर्जना गरिरहेको धारणा व्यक्त गरे ।
उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले कोषमा सुरक्षाको ज्ञारेन्टी नभएको अवस्थामा उद्योगीहरूले छुट्टै बैंक खातामा रकम जम्मा गरिरहेको बताए । अन्तरक्रियामा सहभागी उद्योगी÷व्यापारी र मजदुरहरूले कोषको सानो कामका लागि पनि काठमाडौं नै पुग्नुपर्ने भएकाले प्रादेशिक कार्यालय स्थापना गर्ने माग गरेका थिए ।
सामाजिक सुरक्षा कोषले आफ्ना योजनाहरूका बारेमा सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी, व्यवसायी र मजदुरहरूसँग अन्तरक्रिया गरेको जनाएको छ ।
कोषले कार्यविधि संशोधन गरेर माघ २९ बाट कार्यान्वयनमा ल्याएको छ । कोषले संशोधन र अन्योलता हटाउन अन्तरक्रिया गरेको कोषका निर्देशक उत्तमराज नेपालले बताए ।
निजी क्षेत्रका मजदुरहरूका लागि कोषले उपचार र दुर्घटना बिमा तथा पेन्सन पनि उपलब्ध गराउने निर्देशक नेपालले जानकारी दिए । सँगै अन्य सेवा र सुविधाहरू पनि कोषले उपलब्ध गराउने उनले बताए ।
कोषको रकमबाट विभिन्न आयोजना र परियोजनामा पनि लगानी गर्न सकिने उनले बताए । उनले कोषको रकम बैंकमा नै जम्मा हुने भएकाले बैंकिङअनुसार नै हुने उनले जानकारी दिए । अन्तरक्रियामा मोरङ सुनसरी औद्योगिक करिडोरका मजदुर र उद्योगीहरूको सहभागिता थियो ।