काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ठूला परियोजना तयार गरी लगानी सम्मेलन गर्नुपर्ने बताएका छन् । तयारी नगरी लगानी सम्मेलनलगायतका कार्यक्रम गर्दा त्यो अपेक्षाकृत सफल हुन नसकेको उनले बताए ।
“अब हामीले “रेडिमेड प्रोजेक्ट” सहित छिमेकी भारत तथा चीनबाट वास्तविक लगानीकर्ता भित्र्याउने गरी काम गर्नुपर्छ,” अध्यक्ष गोल्छाले भने “देशमा लगानी सम्मेलन त भए तर केही ठूला जलविद्युतमा रहेको प्रत्यक्ष वैदेशिक लगानी बाहेक अपेक्षित रूपमा विदेशी लगानी आउन सकेको छैन ।” महासंघले भारत, चीनलगायतका बाह्य लगानी आउन सक्ने देशका दूतावाससँग छलफल गरेको बताइएको छ ।
२०४६ सालको परिवर्तनपश्चात् मुलुकले अबलम्बन गरेको आर्थिक उदारीकरणको नीतिसँगै नेपालमा प्रत्यक्ष वैदेशिक लगानीप्रति आकर्षित भई लगानी गर्नेको सङ्ख्या बढेको थियो । तर, त्यो लामो समयसम्म रहन सकेन । अध्यक्ष गोल्छाका अनुसार, नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीको प्रोफिट पनि राम्रो छ तर बाह्य लगानी भित्रयाउन सकिएको छैन । उक्त समस्या समाधानका लागि सरकार तथा निजी क्षेत्रले एकीकृत प्रयास गर्नुपर्ने हुन्छ ।
अध्यक्ष गोल्छा भन्छन् “नेपालमा कुन क्षेत्रमा विदेशी लगानी खुला गर्ने र कुन क्षेत्रमा नगर्ने भन्ने विषयमा पनि गृहकार्य जरुरी छ । बाह्य लगानीमा रहेका बाधा हटाउनु पर्ने र विदेशी लगानीकर्ताले लैजाने मुनाफाका विषयमा पनि थप स्पष्टता जरुरी रहेको महसुस निजी क्षेत्रले गरेको छ ।”
उनले बाह्य लगानी आकर्षणको अर्को महत्वपूर्ण पक्ष भनेको कन्ट्री रेटिङ भएको र भर्खर त्यसको अभ्यास गर्न थालेको बताए । एकद्वार प्रणालीको प्रभावकारी उपयोगमा भने सरकारको प्रतिबद्धता आवश्यक हुन्छ ।
प्रवद्र्धन समितिको काम मुलुकभित्र अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन गर्नु हो । भारत र चीनका दूतावासहरूसँग समन्वय गरेर काम अगाडि बढाउन अध्यक्ष गोल्छाको सुझाव छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा बाह्य लगानी आकर्षणका लागि लालयित छ भन्ने सन्देश दिन समितिले कार्य गर्ने विश्वास आफूले गरेको बताएका छन् । वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र प्रत्यक्ष विदेशी लगानी आकर्षण हुन नसक्नुका विषयमा गहिरो अध्ययन गरी महासंघको सुझाव तयार गर्न समितिलाई सफलताको शुभ–कामना दिए ।
महासंघको कार्यकारिणी समितिका सदस्य आनन्दकुमार बगाडियाको सभापतित्वमा गठित उक्त समिति विस्तार भएको छ । समितिको सदस्यहरूमा शक्तिकुमार वेगानी, गजेन्द्र भगत, दिवाकार राठी, समिर शर्मा, समीक्षा राई, दिलिप अग्रवाल र दिपीका श्रेष्ठ छन् । त्यसैगरी समितिको सल्लाहकारहरूमा इन्जिनियर देशबन्धु बस्नेत अजित, सुनिल केसी,
डा.नारायणप्रसाद रेग्मी र कुमार पन्त छन् भने आमन्त्रितहरूमा सन्दीपकुमार अग्रवाल, साहिल अग्रवाल, विजयसिंह वैद्य, सञ्जय गिरी, भरतराज आचार्य, अभिमतराज सुमार्गी, शुभाशिष थपलिया, उज्जवल श्रेष्ठ, गुरुप्रसाद ढकाल, विशालमणि उपाध्याय, मनोज पौडेल, सैबल घोष र रमेश अधिकारी छन् ।