विराटनगर । व्यापार तथा निकाससम्बन्धी सम्पूर्ण जानकारी समेटिएको ‘नेपाल ट्रेड पोर्टल’ को विशेषता मोरङका उद्योगी/व्यापारी तथा भन्सार एजेन्टहरूलाई बुझाइएकोे छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले शुक्रबार विराटनगरमा अभिमुखीकरण कार्यक्रम गरेर उनीहरूलाई बताइएको हो । आयात निर्यात गर्ने र गर्न चाहने व्यवसायीहरूलाई आवश्यक पर्ने सम्पूर्ण जानकारी पोर्टलमा राखिएको छ ।
अभिमुखीकरण कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका नायव कार्यकारी निर्देशक सुयस खनालले निर्यात प्रवद्र्धनका लागि नेपाल सरकारले विभिन्न काम गरिरहेको बताए । ‘सरकारले नेपाल नेशनल सिङ्गल विन्डो ल्याउँदै छ,’ उनले भने, ‘यसको सञ्चालनपछि व्यवसायीले आफ्नै कार्यालय वा घरमा बसेर कुनै सरकारी कार्यालमा नपुगी सामान निकासी गर्न सक्नेछ ।
भन्सर विभागले तयार गरिरहेको यो कार्यक्रममा हाम्रो पनि हिस्सा रहेको छ ।’ उनले निर्यात हुने वस्तु कुन ठाउँमा उत्पादन भइरहेको भन्ने जानकारी दिने गरी डिजिटल नक्सा निर्माणको कामसमेत भइरहेको जानकारी दिए । सबैभन्दा बढी स्वदेशी वस्तु निर्यात गर्ने नाका विराटनगर भन्सार भएकाले यही कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक सुरेन्द्रनाथ गंगोलले पोर्टलको महत्व र विशेषता सम्बन्धमा प्रष्टाएका थिए । ‘व्यवसायीलाई केन्द्रमा राखेर बनाएको पोर्टल विश्व बैंकको अनुदान सहयोगमा निर्माणम गरिएको हो,’ उनले भने, ‘आयात निर्यात गर्न आवश्यक पर्ने सबै प्रकारका सूचना प्रोटलमा रहेको छ ।’
अभिमुखीकरण कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, उद्योग संगठनका अध्यक्ष सुयस प्याकुरेल र निवर्तमान अध्यक्ष भीम घिमिरे र भन्सार एजेन्टका प्रतिनिधिको सहभागिता थियो ।