काठमाडौं। मध्यपूर्वमा भड्किएको भू-राजनीतिक संकटका कारणले नेपालका विभिन्न उद्योग धरासायी हुने अवस्थामा पुगेका छन्। मध्यपूर्वमा निम्तिएको तनावका कारणले उद्योगीलाई खच्च आपूर्तिमा समस्या भएको छ। अर्कोतर्फ कच्च सामग्री नपाइने जोखिम निम्तिदै गएको छ।
एकातर्फ पेट्रोलियम पदार्थको मूल्य अकासिँदा अर्कातर्फ सीमित आयातकर्ताले कच्च पदार्थका सामग्रीमा कार्टेलिङ गरी कृत्रिम अभाव सिर्जना गर्दै बजारलाई आफ्नो कब्जामा राख्ने खेल भइरहेको छ। उद्योगी व्यवसायी यस दोहोरो मारबाट थिचिँदै गएका छन्।
नेपाल आयल निगमले चैत १ मध्यरातिदेखि पेट्रोलियम मूल्य समायोजन गरी वृद्धि गरिसकेको छ। नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १६९ रुपैयाँ ५० पैसादेखि १७२ रुपैयाँसम्म र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ ५० पैसादेखि १५२ रुपैयाँसम्म कायम गरिएको छ। अमेरिका, इजरायल र इरानबीचको तनावले विश्व जबारमा इन्धनको संकट पर्दै गएको देखिन्छ। यसले नेपालका उद्योगीलाई पनि समस्या पार्न थालेको छ।
उद्योगमा ढुवानी मात्रै नभई कतिपय वस्तु उद्योगमा कच्चा पदार्थका रुपमा प्रयोग हुने गरेका छन्। फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका अध्यक्ष रुद्र न्यौपानेका अनुसार, नेपालमा उत्पादन हुने जुत्ताचप्पलमा प्रयोग हुने कच्चा पदार्थमध्ये करिब ७० प्रतिशत पेट्रोलियमजन्य पदार्थमा आधारित छन्। पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा जुत्ताचप्पल उत्पादन लागतमा प्रत्यक्ष असर परेको छ।
‘यदि यो ७० प्रतिशत हिस्सा भएको कच्चा पदार्थको मूल्य सतप्रतिशत बढ्यो भने उत्पादन लागत स्वतः बढ्छ,’ उनले भने। हाल जुत्ताचप्पल उद्योगमा प्रयोग हुने प्रमुख कच्चा पदार्थहरूमा इथिलिन विनाइल एसेटेट (ईभीए), पोलियुरेथेन (पीयू), पोलिभिनाइल क्लोराइड (पीभिसी), रबर तथा ग्लुलगायतका सामग्री पर्छन्। यी सामाग्री अधिकांश पेट्रोलियमबाट निर्मित हुने न्यौपाने बताउँछन्। त्यसैले पेट्रोलियम पदार्थमा हुने उतारचढावले उद्योगलाई प्रत्यक्ष असर पारिरहेको उनले बताए।
न्यौपानेका अनुसार हाल कच्चा पदार्थको आपूर्तिमा पनि समस्या देखिएको छ। ‘हाम्रा धेरैजसो कच्चा पदार्थहरू चीनबाट तेस्रो देश हुँदै, सिंगापुर वा मलेसिया भएर नेपाल आउने गर्छन्, पछिल्लो समय अन्तर्राष्ट्रिय ढुवानी मार्ग अवरुद्ध हुँदा आपूर्ति प्रणाली प्रभावित भएको छ,’ उनले भने, ‘आपूर्तिकर्ताले कच्चा पदार्थको मूल्य करिब सतप्रतिशत बढाइसकेका छन्। आगामी दिनमा आपूर्ति गर्न नसक्ने सम्भावनाबारे समेत जानकारी दिएका छन्।’
एकातिर कच्चा पदार्थ महँगो र दुर्लभ हुँदै गएको छ भने अर्कोतर्फ बजारमा मूल्य बढाउन नसकिएको अवस्था छ।
नेपालमा उत्पादित जुत्ताचप्पलमध्ये करिब ८० देखि ९० प्रतिशत आन्तरिक बजारमै खपत हुने गरेको छ। उद्योगले वार्षिक रूपमा करिब ७० लाख जोडी उत्पादन गर्दै आएका छन्। यद्यपि, लागत बढ्दै गएपछि आफूहरुले हालसम्म बजारमा मूल्य बढाउन नसकेको बताए। ‘हामी अहिले पनि पुरानै मूल्यमा बिक्री गरिरहेका छौँ, तर यो अवस्था लामो समयसम्म रहन गयो भने, मूल्य वृद्धि गर्न हुन्छ,’ उनले भने। उद्योग अहिले दोहोरो दबाबमा रहेको उनको तर्क छ। एकातिर कच्चा पदार्थ महँगो र दुर्लभ हुँदै गएको छ भने अर्कोतर्फ बजारमा मूल्य बढाउन नसकिएको अवस्था छ।
नेपालमा भान्सादेखि ढुवानी प्रत्यक्ष असर परेको छ। मध्यपूर्वमा भड्किएको भू-राजनीतिक संकटका कारणले औषधि उत्पादनमा पनि समस्या निम्तिएको छ। नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष प्रज्वलजंग पाण्डेका अनुसार मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वले औषधि उत्पादन क्षेत्रमा पनि प्रभाव पार्ने संकेत देखिएको छ। उनका अनुसार औषधि उत्पादनमा प्रयोग हुने धेरै कच्चा पदार्थहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राकृतिक ग्यास तथा पेट्रोलियमजन्य स्रोतमा निर्भर छन्।
‘मध्यपूर्व प्राकृतिक ग्यासको प्रमुख स्रोत भएको क्षेत्र हो। त्यहाँको आपूर्ति प्रणाली प्रभावित हुँदा त्यसको असर औषधि उद्योगमा पनि देखिन थाल्छ,’ उनले भने, ‘धेरैजसो कच्चा पदार्थ तथा सिन्थेटिक उत्पादनहरू बनाउन प्रयोग हुने आधारभूत सामग्रीहरू ग्यास र पेट्रोलियमसँग जोडिएका हुन्छन्।’ ढुवानी लागतमा भएको वृद्धि पनि अर्को चुनौतीको रूपमा देखिएको छ।
‘अन्तर्राष्ट्रिय ढुवानी महँगो भएको छ, विशेषगरी भारतबाट आउने सामग्रीको लागत करिब १५ प्रतिशतसम्म बढेको छ,’ उनले भने। कच्चा पदार्थको आपूर्तिमा कमी आउने सम्भावनाबारे उनले चिन्ता व्यक्त गरेका छन्। ‘औषधि उत्पादनका लागि आवश्यक सामग्रीहरू कम्तीमा ३०/४० प्रकारका हुन्छन्। तीमध्ये कुनै एकमा पनि अभाव भए उत्पादन प्रभावित हुन्छ,’ उनले भने।
उनका अनुसार परीक्षणका लागि आवश्यक केमिकलमा समेत अभाव देखिन सक्ने जोखिम देखिएको छ। हालसम्म उद्योगहरूमा कच्चा पदार्थको आपूर्ति जारी रहेको भए पनि द्वान्द्व जारी रहने अवस्था रहे आपूर्तिमा समस्या सिर्जना हुन्छ। ‘पेट्रोलियम पदार्थ भनेको केवल इन्धन मात्र होइन, उत्पादन प्रक्रियामा प्रयोग हुने विभिन्न ग्यास, रिफाइनरीजन्य सामग्री र अन्य औद्योगिक उपयोगका वस्तुहरू पनि यसमै पर्छन्,’ उनले भने, ‘यो अवस्था लम्बियो भने औषधिको उत्पादन लागत बढ्नेछ। तर, औषधि संवेदनशील वस्तु भएकाले तत्काल मूल्य बढाउन सहज छैन।’
इन्धन मूल्य वृद्धिले निर्माण व्यवसायीलाई समेत समस्या निम्ताएको छ। निमार्ण समाग्री आपूर्ति गर्न सहज नभएको भन्दै ‘कन्स्ट्रक्सन होलिडे’ गर्न समेत व्यवसायीले माग गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार बुकिङ गर्दाको मूल्यभन्दा अहिले प्रतिलिटर ४० रुपैयाँसम्म अलकत्राको मूल्य बढेको छ। पाँच गाडीको रोटेसनमा बिहान एउटा रेट, दिउँसो अर्को, बेलुका फेरि अर्कै- यो क्रम नियमित भइसकेको छ। फलामे डन्डीको अवस्था त झनै भयावह छ। अहिले ८५ देखि ९० रुपैयाँसम्म पुगेको छ।
कतिपयले गोदाममा सामग्री थन्क्याएर राख्ने र कृत्रिम अभाव सिर्जना गर्ने काम गरेका छन्।
सिमेन्टमा पनि यही खेल भइरहेको उनको आरोप छ। यस संकट समाधानका लागि नेपाल निर्माण व्यवसायी महासंघले सरकारसँग ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न माग गरेको छ। अध्यक्ष सिंह भन्छन्, ‘यो मूल्य वृद्धि अन्तर्राष्ट्रिय बजारको तत्काल प्रभावले भएको होइन, विदेशबाट सामान आयात गर्न र उत्पादन प्रक्रियामा करिब ६ महिनासम्म लाग्ने भएकाले अहिले बेचिने सामग्री पहिले नै सस्तोमा आयात भइसकेको हुन्छ,’ उनले भने, ‘बजारमा सामान हुँदाहुँदै पनि अभाव छ। हल्ला फैलाएर मूल्य बढाउने प्रयास भइरहेको छ।’
कतिपयले गोदाममा सामग्री थन्क्याएर राख्ने र कृत्रिम अभाव सिर्जना गर्ने काम गरेका छन्। पहिले खोलिएका एलसीका आधारमा आइसकेका सामानसमेत पुरानो मूल्यमा नदिने, नयाँ मूल्यमा मात्रै बेच्ने प्रवृत्ति मौलाएको उनको गुनासो छ। यस्तै, अन्य कपडा उत्पादनमा प्रयोग हुने धागो उत्पादन उद्योगमा समेत असर देखिन थालेको छ। व्यवसायी शशिकान्त अग्रवालका अनुसार इन्धन आपूर्तिमा देखिएको संकटका कारण धागो उद्योग पनि प्रभावित भएको छ।
‘हाम्रो धागो उद्योगमा प्रयोग हुने कच्चा पदार्थहरू अधिकतम रुपमा पेट्रोलियम केमिकलमा आधारित हुन्छ,’ उनले भने, ‘कच्चा पदार्थ खरिद गर्न गाह्रो भएको छ। केही स्थानबाट मात्र सीमित रूपमा उपलब्ध हुन्छ, तर मागअनुसार पाउन सकिएको छैन।’ त्यसैगरी कच्चा पदार्थको मूल्य करिब ३० प्रतिशतसम्म वृद्धि भएका अग्रवालले जनाएका छन्। डलरको मूल्य बढ्नु र आयातमा निर्भरता भएकाले लागत अझ बढेको उनको भनाइ छ।
‘हामीले सबै कच्चा पदार्थ डलरमा खरिद गर्नुपर्छ, डलर महँगो हुनु र आपूर्ति कम हुनु दुवै कारणले उद्योगमा ठूलो दबाब परेको छ,’ उनले भने। अग्रवालका अनुसार पानी जहाज भाडा पनि चार गुणासम्म वृद्धि भएको छ। यसले आयात लागत अझ बढाएको छ। धागो उद्योग अहिले गम्भीर समस्यामा रहेको बताउँदै उनले भने, ‘पेट्रोकेमिकल आपूर्ति सहज नभएसम्म उद्योगमा समस्या रहिरहन्छ।’