काठमाडौं । सरकारले बढी कर बुझाउने विभिन्न विधाका उत्कृष्ट करदातालाई सम्मानित गरेको छ । आन्तरिक राजस्व विभागले नवौं राष्ट्रिय कर दिवसका अवसर पारेर बिहीबार आर्थिक वर्ष २०७५/०७६ मा १५ विधामा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको हो ।
सो आर्थिक वर्षमा बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालि सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा सम्मानित भएको छ । राजधानीमा आयोजित कार्यक्रममा मुख्यसचिव शंकरदास बैरागीले सूर्य नेपालका सञ्चालक रवी केसीलाई सम्मान गरे ।
यो पनि हेर्नुहोस
सबैभन्दा बढी कर तिर्नेमा मदिरा व्यवसायी विजयकुमार शाह, संस्थामा सूर्य नेपाल
व्यक्तिगत मध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा जावलाखेल ग्रुप अप कम्पनीजका अध्यक्ष विजयकुमार शाह सम्मानित भएका छन् । गत आर्थिक वर्ष उनले व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिरेका थिए। उनको लगानीमा जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, राज ब्रुअरी, एसियन डिस्टिलरी र विजय डिस्टिलरी सञ्चालनमा छन् ।
निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर तिर्नेमा डाबर नेपाल प्रालि, विशेष उद्योगमध्ये हिमाल पावर लिमिटेड, कृषि एवं पशुपन्छीजन्य उद्योगमध्ये अन्नपूर्ण एग्रो इण्डष्ट्रिज, र बैंकहरु मध्ये नबिल बैंक सबैभन्दा बढी आयकर तिर्ने करदाताका रूपमा सम्मानित भएका छन् । लघुवित्तमध्ये सबैभन्दा बढी कर तिर्दै छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड सम्मानित भएको छ ।
बीमा व्यवसायमध्ये नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, स्वास्थ्य तथा शिक्षा सेवामध्ये मनिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप नेपाल प्रालि र पर्यटन व्यवसायमा तारागाउँ रिजेन्सी होटल लिमिटेड सम्मानित भएको छ ।
रेमिट्यान्स कम्पनीहरु मध्ये सबैभन्दा बढी आयकर तिर्नेमा आइएमई लिमिटेड, व्याापार व्यवसायतर्फ अग्नी इन्कर्पोरेटेड सम्मानित भएका छन ।
मूल्य अभिवृद्धि कर (भ्याट) बुझाउनतर्फ घोराही सिमेन्ट इन्डष्ट्रिज सम्मानित भएको छ ।
आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदाताको सूची सार्वजनिक गरेको छ । मंसिर १ गते कर दिवस मनाउने गरिएकोमा यो पटक तिहार र कोरोना भाइरस महामारीका कारण औपचारिक कार्यक्रम भने हुन सकेको थिएन ।