काठमाडौं । ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट–२०२१’ को पहिलो संस्करणको उपाधि पूर्वसचिव अर्जुनकुमार कार्कीले जितेका छन् ।
रोयल नेपाल गल्फ क्लबमा शनिबार ४१ स्कोर कार्डसहित कार्कीले उपाधि जितेका हुन् । टेबल फोर्ड ३/४ ह्यान्डिक्याप फम्र्याटमा भएको प्रतियोगिताको पहिलो दिन शुक्रबार २३ स्कोर बनाएका कार्कीले दोस्रो दिन शनिबार १८ स्कोर थप गरेका थिए । त्यस्तै ३६ स्कोर बनाएका कृष्ण पुन काउन्ट ब्याकको आधारमा उपविजेता बनेका छन् ।
यस्तै महिलातर्फको उपाधि ३८ स्कोर बनाएर गीता गुरुङले जितेकी छन् भने, रेखा घिमिरे ३५ स्कोरसहित उपविजेता बनिन् । सिनियर पुरुषतर्फको उपाधि पूर्वसेना प्रमुख जनरल गौरवशमशेर राणाले जित्दा दिलीपजंग रायमाझी उपविजेता भए ।
यसैगरी चेम्बरतर्फको उपाधि एसएसपी अशोक सिंहले जित्दा उपविजेता पवित्रकुमार कार्की भएका छन् । प्रतियोगितामा उत्कृष्ट ग्रस र मस्ट बर्डिजको उपाधि हृदेशकुमार सिंहले हात पारे । लङ्गेस्ट ड्राइभको उपाधि श्रीजय आचार्यले पाए भने, क्लोजेस्ट टु पिनको उपाधि तेजबहादुर राईले हात पार्न सफल भए ।
विजेता तथा उपविजेताहरूलाई प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
नेपाल चेम्बर र रोयल नेपाल गल्फ क्लबको संयुक्त आयोजनामा भएको दुई दिने प्रतियोगितामा ८८ जना खेलाडीको सहभागिता थियो । नेपाल चेम्बर अफ कमर्स र रोयल नेपाल गल्फ क्लबबीच ५ वर्षका लागि ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गर्ने समझदारी अनुसार प्रतियोगिताको पहिलो संस्करण सञ्चालन भएको हो ।
नेपाल गल्फ पर्यटनको गन्तव्य
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ लाई अन्तर्राष्ट्रिय स्तरमा रूपान्तरण गरिने बताइका छन् । साथै उनले गल्फलगायत खेलकुदमार्फत पर्यटनको विकासमा सरकारसँग हातेमालो गर्न निजी क्षेत्र तयार रहेको समेत बताए ।