काठमाडौं । अत्यधिक लाइन ट्रिपिङ र कम भोल्टेज प्रवाह हुँदा भैरहवा क्षेत्रका उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । बुधबार बिहानदेखि ११ बजेसम्म ११ पटक लाइन ट्रिपिङ र उद्योग चल्नै नसक्ने गरी भोल्टेज प्रवाह भएपछि अधिकांश उद्योग बन्द हुने अवस्थामा पुगेका हुन् ।
भोल्टेज कम भएका कारण उद्योगमा ठूलो क्षति भएको र तत्काल सम्झौता गरेअनुरुप भोल्टेज उपलब्ध गराइदिन भैरहवाका उद्योगीले त्यहाँको वितरण केन्द्रलाई अनुरोध गर्दा कुनै हालतमा विद्युत् उपलब्ध गराउन नसकिने बरु उद्योग बन्द गर्न आग्रह गरेको त्यहाँका उद्योगीहरू बताउँछन् ।
उद्योग चलाउनै नसक्ने अवस्था भइसक्यो । प्राधिकरणका कारण लाखौंको क्षति भइसकेको छ । अहिले भोल्टेज नपाएर उद्योग बन्दजस्तो अवस्थामा रहेको त्यहाँका उद्योगीहरू बताउँछन् ।
प्राधिकरणका भैरहवा वितरण केन्द्र प्रमुख उमेशकुमार झाले कुनै हालतमा सम्झौताअनुसार विद्युत् दिन नसक्ने । बरु उद्योग बन्द गर्दा हुने जवाफ दिन थालेको उद्योगीहरू बताउँछन् ।
लुम्बिनी फिडरको भोल्टेजको समस्याले हामी साह्रै पीडित भयौ । ६ मेगावाट बिजुली लिएपछि अन्डर भोल्टेजमा ट्रिप हुन्छ । वर्तमान अवस्थामा जम्मा ३.१ मा पावर चलिरहेको छ । भोल्टेज २७ छ । के गरौं भनेर त्यहाँका उद्योगीले सोधेका छन् ।
तर, प्राधिकरण नेतृत्वले हामी विद्युत् आपूर्तिमा आफैं पनि सचेत छौं । क्यापासिटर र ट्याव चार्जरको अधिकतम उपयोग गरेर पनि हामीले रेटेड भोल्टेजको व्यवस्था गर्न नसकेको बताइरहेका छन् ।
६ मेगावाट लाइनको सम्झौता गरेको उद्योगीले ४ मेगावाट माग्दा पनि प्राधिकरणले कुनै हालतमा त्यति बिजुली दिन सम्भव छैन भनेका छन् । उद्योगीले उद्योग बन्द गरौं त ? भनेर सोधेपछि प्राधिकरणले हस भन्न जवाफ दिएको उद्योगीहरू बताउँछन् ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले केही दिनअघि विद्युत आपूर्तिमा समस्या भए पनि अहिले भैरहवा क्षेत्रमा कुनै समस्या नरहेको बताए । ‘अहिले कुनै समस्या नहुनुपर्ने हो,’ उनले भने, ‘तैपनि म बुझ्छु ।’