इटहरी। कोसी प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले ‘कोसी एक्सिलेन्स अवार्ड २०२६’ आज इटहरीमा आयोजना हुँदै छ।
कार्यक्रमका निर्देशक दीपक थापाका अनुसार नयन मिडिया फाउन्डेसनको आयोजनामा हुने अवार्ड समारोहमा कोसी प्रदेशभर विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्व तथा संस्थालाई १६ विधामा अवार्ड तथा १० क्षेत्रमा विशेष सम्मान प्रदान गरिनेछ।
अवार्डका विधामा कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, पत्रकारिता, साहित्य, खेलकुद, सूचना प्रविधि, अटोमोबाइल, संगीत, बैंकिङ, इन्स्योरेन्स, पुँजीबजार, कर्पोरेट, उद्यमशीलता र स्टार्टअपलगायत क्षेत्र समेटिएका छन्।
कार्यक्रममा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश सरकारका मन्त्रीहरू, विशिष्ट व्यक्तित्व तथा विभिन्न क्षेत्रका प्रतिनिधिको उल्लेख्य उपस्थिति रहनेछ।
आयोजकका अनुसार कार्यक्रममा करिब पाँच सयभन्दा बढी विशिष्ट व्यक्ति, व्यवसायी, समाजसेवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रमले कोसी प्रदेशका प्रतिभा, सिर्जनशीलता र योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म प्रवर्द्धन गर्ने लक्ष्य राखेको निर्देशक थापाले बताए।
यसअघि फागुन ७ गतेका लागि तय गरिएको कार्यक्रम निर्वाचन आचारसंहिताका कारण स्थगित भई आज आयोजना हुन लागेको हो।–रासस