काठमाडौं। नेपालको बजारमा विदेशी तथा स्थापित ब्रान्डको नाम र लोगोसँग मिल्दोजुल्दो चिह्न प्रयोग गर्ने प्रवृत्तिविरुद्ध उद्योग विभागले कडा कदम चालेको छ। विभागले बुधबार ११ वटा ट्रेडमार्क उजुरीका आधारमा सार्वजनिक सूचना जारी गर्दै १० नेपाली उद्योगलाई ७ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन अन्तिम अल्टिमेटम दिएको छ।
विभागका अनुसार सम्बन्धित उद्योगहरूलाई यसअघि नै व्यक्तिगत रूपमा हुलाकमार्फत स्पष्टीकरण माग गरिएको थियो। तर तोकिएको समयभित्र कुनै प्रतिक्रिया नआएपछि विभागलाई सार्वजनिक सूचना जारी गर्न बाध्य हुनुपरेको हो। विभागका कानुन शाखा प्रमुख श्रीकृष्ण पौडेलले भने, "यी चलिरहेका मुद्दा हुन। हामीले पहिला विपक्ष बनाएकालाई हुलाकमार्फत जवाफका लागि पत्र पठाउँछौँ। त्यसपछि मात्र पत्रिकामा सूचना निकाल्छौँ। पत्रिकामा सूचना निकाल्नुको उद्देश्य सम्बन्धित कम्पनीलाई औपचारिक जानकारी दिनु हो।" उनका अनुसार दर्ता भएका उजुरीहरूमध्ये केही मुद्दा लगभग टुंगोमा पुगेका छन् भने केही अझै विचाराधीन अवस्थामा छन्।
यस पटक उजुरी दिने विदेशी कम्पनीहरूमा विश्वका प्रतिष्ठित बहुराष्ट्रिय संस्थाहरू रहेका छन्। तीमध्ये सबैभन्दा अगाडि देखिएको छ अमेरिकी पेय पदार्थ कम्पनी द कोका–कोला, जसले आफ्ना ब्रान्डसँग मिल्ने नाम र लोगो प्रयोग भएको भन्दै तीन वटा छुट्टाछुट्टै उजुरी दर्ता गरेको छ। कोकाकोलाको उजुरीमा पाथीभरा फूड एण्ड प्याकेजिङले 'कुल कोला' र 'सुपर फ्यान्टास्टिक' नाम प्रयोग गरेको तथा सुनसरीस्थित प्रिमियन अर्गानिक्सले 'पलपल कोला' नाम प्रयोग गरेको विषय उल्लेख छ।
यसैगरी जर्मनीको प्रख्यात फेसन ब्रान्ड ह्यूगो बोसले झापास्थित एक फेसन कम्पनीविरुद्ध ट्रेडमार्क दाबी गरेको छ भने अमेरिकी कम्पनीहरू कमकास्ट, मन्स्टर इनर्जी र टर्नर इन्टरटेनमेन्टले पनि विभिन्न नेपाली उद्योगविरुद्ध ट्रेडमार्क नक्कलको आरोप लगाएका छन्। दर्ता भएका उजुरीहरू पेय पदार्थ, खाद्य तथा प्याकेजिङ, कस्मेटिक्स र फेसन उद्योगसँग सम्बन्धित रहेका छन्।
निर्धारित सात दिनभित्र सम्बन्धित उद्योगहरूले प्रमाणसहित लिखित जवाफ नपठाएमा उनीहरूको दाबी स्वतः खारेज गरी एकतर्फी निर्णय प्रक्रिया अगाडि बढाइनेछ। त्यसपछि महानिर्देशकको निर्णयअनुसार कानुनी कारबाही शुरू हुने पौडेलले स्पष्ट पारे। सम्पूर्ण प्रक्रिया संक्षिप्त कार्यविधि ऐन, २०२८ अन्तर्गत अगाडि बढाइएको विभागले जनाएको छ।
यस घटनाक्रमले नेपालमा ट्रेडमार्क संरक्षणको विषय कति संवेदनशील बन्दै गइरहेको छ भन्ने स्पष्ट देखाउँछ। विशेषगरी नेपाल विश्व व्यापार सङ्गठनको सदस्य राष्ट्र भएको र बौद्धिक सम्पत्ति अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्ने सन्दर्भमा उद्योग विभागको यो कदमले नेपाली व्यवसायीहरूलाई एउटा कडा सन्देश दिएको छ- स्थापित अन्तर्राष्ट्रिय ब्रान्डसँग मिल्ने नाम, लोगो वा प्याकेजिङ प्रयोग गर्नु कानुनी रूपमा दण्डनीय छ र यसको परिणाम गम्भीर हुनसक्छ।