काठमाडौं। विश्वभर प्रविधिको तीव्र विकाससँगै ज्ञान हासिल गर्ने प्रक्रिया अझै सहज बन्दै गएको छ।
यही अवसरलाई उपयोग गर्दै धेरै प्रतिभाशाली युवाहरूले नयाँ–नयाँ उत्पादन र सेवा बजारमा ल्याइरहेका छन्। तीमध्ये केहीले उल्लेखनीय सफलता हासिल गर्दै कम उमेरमै ठूलो आर्थिक उपलब्धि हासिल गरेका छन्।
हालै सार्वजनिक गरिएको फोर्ब्स पत्रिकाको अर्बपति सूचीअनुसार ३० वर्षभन्दा कम उमेरका ३५ जना अर्बपति समावेश छन्। यस सूचीमा भारतीय मूलका अमेरिकी उद्यमी सूर्य मिधा पनि परेका छन्, जो हाल विश्वकै सबैभन्दा कम उमेरका स्वनिर्मित अर्बपति बनेका छन्।
यसअघि यो कीर्तिमान फेसबुकका संस्थापक मार्क जकरबर्गका नाममा थियो, जसले २३ वर्षको उमेरमा अर्बपति बन्न सफल भएका थिए। तर, मिधाले भने २२ वर्षमै यो सफलता हासिल गरेका हुन्।
मिधाले आफ्ना साथीहरू ब्रेन्डन फुडी र आदर्श हिरेमथसँग मिलेर एआई आधारित भर्ती स्टार्टअप ‘मर्कोर’ स्थापना गरेका थिए। उक्त कम्पनीले गत वर्षको अन्त्यमा १० अर्ब डलरको मूल्यांकनमा ३५० मिलियन डलर लगानी जुटाउन सफल भएको थियो।
हालै सार्वजनिक फोर्ब्स पत्रिकाको अर्बपति सूचीअनुसार ३० वर्षभन्दा कम उमेरका ३५ जना अर्बपतिमध्ये भारतीय मूलका अमेरिकी उद्यमी सूर्य मिधा पनि परेका छन्, जो हाल विश्वकै सबैभन्दा कम उमेरका हुन्।
फोर्ब्सका अनुसार मिधाको कुल सम्पत्ति करिब २।२ अर्ब डलर रहेको छ। कम्पनीमा फुडी प्रमुख कार्यकारी अधिकृत, हिरेमथ प्रमुख प्रविधि अधिकृत र मिधा सञ्चालक समिति अध्यक्षका रूपमा कार्यरत छन्।
मिधाको जन्म अमेरिकाको माउन्टेन भ्यूमा भएको हो भने उनको बाल्यकाल क्यालिफोर्नियाको सान होजेमा बितेको थियो। उनका अभिभावक भारतको दिल्लीबाट अमेरिका गएका थिए। विद्यालय जीवनमा उनी राष्ट्रिय वाद–विवाद प्रतियोगिताका विजेता थिए र उनको सञ्चार तथा विश्लेषण क्षमता निकै बलियो थियो।
उनले जर्जटाउन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय अध्ययनमा उच्च शिक्षा हासिल गरेका थिए। त्यही समयमा हिरेमथ हार्वर्ड विश्वविद्यालयमा अध्ययनरत थिए भने फुडी जर्जटाउनमै अर्थशास्त्र पढिरहेका थिए। उनीहरूले नीतिगत बहसका तीनवटा राष्ट्रिय प्रतियोगिता जितेका थिए।
मर्कोर प्लेटफर्मको विशेषता भनेको कृत्रिम बुद्धिमत्ता (एआई)अवतारमार्फत आवेदकको अन्तर्वार्ता लिने र योग्य उम्मेदवारलाई विभिन्न कम्पनीमा रोजगारी दिलाउने प्रणाली हो।
यसले भर्ती प्रक्रियालाई आधुनिक बनाउँदै प्रविधिमार्फत दक्ष जनशक्ति छनोट गर्ने काम गरिरहेको छ। अहिले धेरै ठूला प्रविधि कम्पनीले आफ्ना इन्जिनियर र अनुसन्धानकर्ता भर्ना गर्न यही प्लेटफर्म प्रयोग गरिरहेका छन्।