काठमाडौं । नेपाल उद्योग परिसंघका पदाधिकारी र नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेजबीच परिसंघको कार्यालयमा द्विपक्षीय सम्बन्ध र व्यापार प्रवद्र्धनका विषयमा छलफल भएको छ ।
छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले परिसंघको गतिविधिका सम्बन्धमा प्रकाश पार्दै उपभोग बढ्दै गएको तर स्वदेशमा उत्पादन नभएकोले व्यापार घाटा बढ्दै गएको बताए । यसैलाई मध्यनजर गरी परिसंघले “मेक इन नेपाल–स्वदेशी” अभियानलाई अगाडी बढाएको राजदूत डेप्रेजलाई जानकारी गराए ।
अध्यक्ष मोरले विगतमा युरोपियन युनियन र परिसंघको सहकार्यमा अगाडी बढाइएका कार्यक्रम र परियोजनाहरुको बारेमा प्रकाश पारेका थिए । आगामी दिनमा परिसंघले युरोपियन युनियनबाट प्राविधिक सहयोगको अपेक्षा राखेको बताउँदै हाल सुरक्षाको कारण देखाउँदै नेपाली हवाई उड्ययनलाई लगाएको प्रतिवन्ध हटाउन माग गरे ।
त्यसैगरी भारतसँग भएको व्यापार सम्झौता अनुसार शुल्क मुक्त निर्यात भइरहेकोले युरोपमा पनि कसरी निर्यात बढाउन सकिन्छ त्यस तर्फ सहयोग पुर्याउन राजदूत डेप्रेजलाई अनुरोध गरे ।
परिसंघका वरिष्ठ आर्थिक सल्लाहकार डा. विश्व पौडेलले नेपाल कम विकसित राष्ट्रबाट माथि जाँदै गर्दा युरोपियन युनियनले प्रदान गरेका व्यापार सुविधाहरु स्वतः हट्ने भएकोले युरोपका मूलुकमा भएको व्यापार १० प्रतिशतले घट्नेतर्फ संकेत गर्दै नेपालमा विप्रेषणबाट भएको आम्दानीले उपभोग बढ्दै गएको बताए ।
उनले नेपाल र युरोपियन युनियनको सम्बन्ध माथि प्रकाश पार्दै नेपालमा औद्योगिक सर्भे नभएको र भएका सर्भेहरु पनि सम्बन्धित संस्थाको सिमित प्रयोजनका लागि भएकाले परिसंघले औद्योगिक सर्भे नियमित रुपमा प्रकाशन गर्दै जाने बताए ।
परिसंघ उत्पादनमूलक उद्योगमा केन्द्रित भएकोले सरकारसँग सहकार्य गरिरहेको बताउँदै परिसंघले कृषिजन्य र विटुमिन लगायतका कम्तिमा आठवटा उद्योगसँग सम्बन्धित वस्तुको आयात प्रतिस्थापन गर्ने तर्फ परिसंघ अगाडी बढेको बताउनु भयो ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले युरोपियन युनियनले युरोपका कम्पनीहरुसँग प्राविधिक सहकार्य गर्न र सिप विकासको लागि सहयोग गर्न अनुरोध गर्नु गरे ।
परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले युरोपियन युनियनको आर्थिक सहयोग र दक्षतासँगको सहकार्यमा निजी क्षेत्रको आवश्यकता अनुरुप युवा जनशक्तिको सिप विकास गर्नको लागि नीजि क्षेत्रको सहभागितामा श्रमबजार सूचना सम्बन्धी सरल र प्रभावकारी पद्दतिको निर्माण गर्न इएलएमएस परियोजना अगाडी बढाई रहेको बताए ।
राजदूत डेप्रेजले युरोपियन युनियले नेपाल सरकारलाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको सन्दर्भ उल्लेख गर्दै नीति निर्माणमा सहयोग पुर्याउन इच्छुक रहेको जानकारी गराए । राजदूत डेप्रेजले वैदेशिक लगानीको लागि नियामक निकायबाट सहज नभएको तर्क राख्दै लगानीमैत्री वातावरण बनाउनु पर्ने धारणा राखे ।
नेपाल एलडिसिबाट ग्र्याजुएट भएपछि प्रतिस्पर्धी क्षमता विकास गरी युरोपियन बजारबाट लाभ लिन सकिने बताए । त्यसैगरी नेपालबाट युरोपियन युनियनमा आवद्ध देशहरुमा निर्यात हुँदै आएको वस्तुहरु निर्यात गर्न सहयोग गर्ने, पर्यटन प्रवद्र्धनको लागि सहयोग पुर्याउने र हवाई उड्यनका सम्बन्धमा देखिएको समस्यालाई समाधान गर्नको लागि पहल गर्ने बताए ।