काठमाडौं । उद्योगी व्यवसायीको मनोवल गिराउने आधादर्जन कानुन संशोधन गर्ने बित्तिकै व्यावसायिक वातावरण आफैं बन्ने निजी क्षेत्रले निश्कर्ष निकालेको छ । नीतिगत असजिला भएका कारण लगानीको वातावरण बन्न नसकेको र सरकारले त्यस्ता कानुनलाई खारेज वा समयसापेक्ष बनाउने बित्तिकै लगानीको माहोल बन्ने उनीहरूको भनाइ छ ।
सरकारले कालोबजारी र अन्य सामाजिक अपराध तथा कारबाही ऐन २०३२, राजस्व न्यायाधिकरण ऐन २०६३, सार्वजनिक खरिद ऐन २०६३, उपभोक्ता संरक्षण ऐन २०७५, औद्योगिक व्यवसाय ऐन २०७६, भूमि ऐन २०२१, सम्पत्ति शुद्धीकरण ऐन २०५२ लगायत कानुनी सुधार गर्ने बित्तिकै लगानीको वातावरण आफैं बन्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताए ।
लगानीकर्ताको मनोवल गिराउने तथा नयाँ लगानी गर्नलाई निरुत्साहित गर्ने यस्ता कानुन संशोधन वा खारेज गर्ने बित्तिकै त्यसको सकारात्मक असर पर्ने उनको भनाइ छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ले अभिभावकीय भूमिकामा रहेको सरकारसँग निजी क्षेत्रको अपेक्षा विभिन्न क्षेत्रमा हुनु स्वाभाविक भएको बताए ।
‘सरकारको काम कानुन सुधार गर्नु र आवश्यक सहजीकरण गरिदिनु पनि हो । तर, नेपालमा सरकारी संयन्त्र र निजी क्षेत्रबीच राम्रो सहकार्य हुन सकेको छैन,’ मल्लले भने, ‘निजी क्षेत्रले सरकारसँग बारम्बार यस्ता कानुनलाई समयसापेक्ष बनाउन आग्रह गरे पनि सुनुवाइ भएको छैन । त्यही भएर पनि देशमा लगानीकर्ताले लगानी बढाउन नसकेका हुन् ।’
निजी क्षेत्रले अहिले मात्र कानुन सुधार गर्न माग गरेको होइन, धेरै भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले धेरैपटक निजी क्षेत्रका प्रतिनिधिसँग निजी क्षेत्रको सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तर, अहिलेसम्म निजी क्षेत्रले भनेका कुनै पनि कानुन संशोधन नभएको मल्लको भनाइ छ ।
सरकारले बारम्बार देशमा लगानीको वातावरण बनिसकेको बताइरहेको छ । देशमा जबसम्म वर्षौंअघिका कानुनलाई संशोधन गरिँदैन, तबसम्म लगानीको वातावरण बन्दैन । ५० वर्षअघि बनेका कानुनमाथि टेकेर व्यवसायीलाई जेल हाल्ने, व्यवसायी बन्द गर्नेलगायत काम भइरहेको छ । त्यस्ता कानुनको अन्त्य नहुँदासम्म देशमा व्यावसायिक वातावरण बन्न नसक्ने उद्योगीहरूको निश्कर्ष छ ।
सरकार नियन्त्रण गर्ने सोचबाट अघि बढ्नु भएन । व्यवसायीलाई कसरी व्यवसाय गर्न सहज हुन्न भन्ने तरिकाबाट सरकारले नसोच्दासम्म देशमा ठुल्ठूलो विदेशी लगानी तथा स्वदेशी लगानी नआउने उद्योगीहरू बताउँछन् ।