काठमाडौं । नेपाल बैङ्कर्स संघले ब्याजदर अन्तर (स्प्रेड) को गणनाविधिलाई पुनरावलोकनको माग गरेको छ । संघको बुधबार बसेको बैठकले गणनाविधिले बैङ्किङ क्षेत्रमा ठुलो समस्या ल्याउने भन्दै यसलाई पुनरावलोकनका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।
स्प्रेडदर गणनाविधिमा पुर्नविचार गर्नका लागि केन्द्रीय बैङ्कलाई आग्रह गरिने प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले बताए ।
केन्द्रीय बैङ्कले जारी गरेको निर्देशनमा स्प्रेडदरको गणनाविधि परिवर्तन गरेको थियो । सो विधिले बैङ्कको स्प्रेडदर घटेर ३.२ प्रतिशतमा सीमित हुँदा आम्दानीमा भारी गिरावट आउने भएपछि बैङ्करहरुले पुनरावलोकनको माग गर्न लागेका हुन ।
राष्ट्र बैङ्कले जारी गरेको निर्देशिकामा बैङ्कहरुले सरकारी सुरक्षणमा गरेको लगानीबाट प्राप्त आम्दानीलाई स्प्रेडमा गणना गर्न नपाउने व्यवस्था गरेको छ ।
स्प्रेडदरमा गरिएको आकास्मिक परिमार्जनले बैङ्किङ क्षेत्रमा २५ प्रतिशत अर्थात ३० अर्ब रुपैयाँ नाफामा संकुचनमा आउने संघले जानकारी दिएको छ ।
यसले बैङ्किङ क्षेत्रले तिर्ने आयकरका साथै कर्जा प्रवाहमा संकुचन आउने संघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । नाफामा संकुचन आएपछि यसको असर सेयर बजारमा पनि पर्ने संघको भनाई छ ।
यसैगरी काउन्टर साइक्लिकल बफर २ प्रतिशत वृद्धि भई पुँजीकोष अनुपात ११ बाट १३ प्रतिशत पुग्न गई बैङ्कको लगानी गर्ने क्षमता १ खर्ब ५० अर्ब रुपैयाँले संचकुचन आउने संघको भनाई छ ।
यसले गर्दा सरकारले लिएको ८.५ प्रतिशतको आर्थिक वृद्धि र मौद्रिक नीतिले लिएको २१ प्रतिशत कर्जा विस्तारलाई अवरुद्ध गर्ने ठहर संघले गरेको छ । विस्तार हुँदै गएको बैङ्कासुरेन्सलाई बन्देज लगाउँदा बीमाको बजार विस्तारमा असर गर्ने ठहर संघको छ ।
