झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले ग्रीन टी र अर्थोडक्स चिया प्रशोधन कारखाना स्थापना गरेर उत्पादन शुरु गरेको छ । जिल्लामा पहिलोपटक सहकारीले मेचीनगर नगरपालिका–५ स्थित सुरेन्द्र नगरमा हरियो पत्ती प्रशोधन गरेर ग्रीन टी र अर्थोडक्स चियाको उत्पादन शुरु गरेको हो ।
सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्था र नेपाल बहुद्देश्यीय सहकारी संस्थाबीच गत आर्थिक वर्षमा एकीकरण भएपछि सहकारीले ग्रीन टी र अर्थोडक्स चियाको व्यवसाय सञ्चालनलाई प्राथमिकता दिएको थियो । तत्कालीन सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्थाले १ करोड १६ लाख रुपैयाँको लागतमा ग्रीन टी र अर्थोडक्स चिया प्रशोधन कारखाना निर्माण शुरु गरेको थियो ।
उक्त चिया प्रशोधन कारखाना निर्माणको लागि नेपाल सरकार सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी विभागबाट ६९ लाख ९० हजार रुपैयाँ अनुदान प्राप्त भएको थियो ।
दुई सहकारी संस्थाबीच एकता भएसँगै सहकारीले थप १ करोड रुपैयाँ विनियोजन गरी निर्माणको काम सम्पन्न गरेर प्रशोधनको काम शुरु गरेको हो । संस्थाले बैंकिङ व्यवसाय, डेरी व्यवसाय, एकीकृत नमूना कृषि फर्म, सहकारी पसल व्यवसाय यसअघि नै शुरु गरिसकेको छ भने पाँचौँ व्यवसायको रूपमा चिया व्यवसाय शुरु गरेको संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिए।
अध्यक्ष उप्रेतीले हाल अर्थोडक्स र ग्रीन टी उत्पादन गर्ने र पछि क्रमशः सिटिसी चिया उत्पादन र बजारीकरणको सम्भाव्यता अध्ययन गर्ने योजना रहेको बताए । चालू आर्थिक वर्षबाट हरियो पत्ती प्रशोधन गरी चिया आफ्नै प्याकेजिङमा सहकारीले बजारमा पठाउने तयारी गरेको उनले बताए ।
सहकारीले चिया उद्योग सञ्चालन गरेपछि स्थानीय चिया कृषक तथा सदस्य उचित मूल्य पाइनेमा आशावादी बनेका छन् । सहकारीले हरेक व्यवसायलाई व्यवस्थित सञ्चालन गर्न लगानी सीमासमेत निर्धारण गरेको छ । सहकारीले बैंकिङ व्यवसायतर्फ ६९ करोड, डेरी व्यवसायतर्फ २० करोड, एकीकृत नमूना कृषि फर्मतर्फ रु २५ करोड, सहकारी पसल व्यवसायमा २५ करोड र चिया प्रशोधन व्यवसायमा ५ करोड लगानी सीमा निर्धारण गरेको अध्यक्ष उप्रेतीको भनाइ छ ।
विसं २०५० मा २६ जना शेयर सदस्यको कूल २ लाख ५३ हजार सेयर पूँजीबाट शुरु भएको सहकारी संस्थामा हाल १ लाख सेयर सदस्य छन् । संस्थामा १ अर्ब छ करोड रुपैयाँको सेयर रकम पुगेको छ । सहकारीले हालसम्म ९ अर्ब कर्जा लगानी गरेको छ बैंकिङ व्यवसायका प्रशासनिक प्रमुख मनिष कोइरालाले बताए । रासस