काठमाडौं । बैङ्करहरुले तिब्र असन्तुष्ठि जनाएपछि नेपाल राष्ट्र बैङ्कले भरर्खरै लागु गरेको स्प्रेडदरको नयाँ गणनाविधिमा पुनरावलोकनको संकेत गरेको छ ।
स्प्रेडदर नयाँ गणनाविधिले उद्योगी, व्यवसायीले सस्तो दरमा कर्जा पाउने तर बैङ्करहरुको आम्दानीमा गिरावट आई नाफा घट्ने देखिएपछि केन्द्रीय बैङ्क पुनरावलोकन गर्ने मनस्थितिमा पुगको हो । नयाँ गणनाविधिमा बैङ्करहरुको तिब्र असन्तुष्ठि रहेको छ ।
नयाँ नियमले बैङकिङ क्षेत्रमा समस्या आउने निश्कर्ष बैङ्करहरुले निकालेपछि राष्ट्र बैंकले पुनर्विचारको संकेत गरेको हो । राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी निर्णयले समस्यै पर्ने भएपछि दोधारमा परेको बताएका छन् ।
क्यापिटल नेपालसंग कुरा गर्दै शिवाकोटीले भने ‘स्प्रेडदर गणनाविधिमा पुनर्विचारबारे छलफल गर्ने छौं । समस्या पर्ने भए यस विषयमा सोचिने छ ।’ स्प्रेडदर घटाउदा उद्योगी व्यवसायी खुशी र बैङ्करहरु दुःखी भएकोले दोधारमा परेको उनले स्पष्टपारे ।
नयाँ गणनाविधिले स्प्रेडदर घटेर ३.२ प्रतिशतमा झर्ने बैङ्करहरुले बताएका छन् । केन्द्रीय बैङ्कले आगामी असारसम्म स्प्रेडदर ४.५ बाट १ प्रतिशत विन्दु घटाइ ४.४ प्रतिशत कायम गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैङ्कले जारी गरेको निर्देशिकामा बैङ्कहरुले सरकारी सुरक्षणमा गरेको लगानीबाट प्राप्त आम्दानीलाई स्प्रेडमा गणना गर्न नपाउने व्यवस्था गरेको छ ।
बुधबार बिहान २८ वटै वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीइओ) तथा सीइओले पठाएका प्रतिनिधिहरुको संयुक्त बैठकको छलफलको मूख्य विषय स्प्रेडको नयाँ गणनाविधिलाई बनाएको थियो ।
बैङ्कर्स संघको बैठकले स्प्रेडदर गणनाविधिमा पुनरावलोकनका लागि केन्द्रीय बैङ्कलाई अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै बैठकमा ब्याजदरको भद्र सहमति तथा बैङ्कासुरेन्स लगायतका राष्ट्र बैंकका अन्य नियमका विषयमा पनि छलफल भएको थियो ।
कार्यान्वयनमा ल्याएको स्प्रेडदरको नयाँ गणनाविधिले बैङ्किङ क्षेत्रमा समस्या आउने भन्दै पुनर्विचार गर्ने निर्णय भएको प्रभु बैंकका सीईओ अशोक शेरचनले बताए । ‘नयाँ स्प्रेडदरले समस्या निम्त्याउने भएकाले पुर्निविचारका लागि राष्ट्र बैंकलाई आग्रह गर्ने निर्णय भएको छ ।’ उनले भने ।
नाफामा ३० अर्ब संकुचन आउने
स्प्रेडदरमा गरिएको आकास्मिक परिमार्जनले बैङ्किङ क्षेत्रमा २५ प्रतिशत अर्थात ३० अर्ब रुपैयाँ नाफामा संकुचनमा आउने संघले जानकारी दिएको छ ।
यसले बैङ्किङ क्षेत्रले तिर्ने आयकरका साथै कर्जा प्रवाहमा संकुचन आउने संघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । नाफामा संकुचन आएपछि यसको असर सेयर बजारमा पनि पर्ने संघको भनाई छ ।
यसैगरी काउन्टर साइक्लिकल बफर २ प्रतिशत वृद्धि भई पुँजीकोष अनुपात ११ बाट १३ प्रतिशत पुग्न गई बैङ्कको लगानी गर्ने क्षमता १ खर्ब ५० अर्ब रुपैयाँले संचकुचन आउने संघको भनाई छ ।
यसले गर्दा सरकारले लिएको ८.५ प्रतिशतको आर्थिक वृद्धि र मौद्रिक नीतिले लिएको २१ प्रतिशत कर्जा विस्तारलाई अवरुद्ध गर्ने ठहर संघले गरेको छ । विस्तार हुँदै गएको बैङ्कासुरेन्सलाई बन्देज लगाउँदा बीमाको बजार विस्तारमा असर गर्ने ठहर संघको छ । 