काठमाडौं । प्रतिष्ठित उद्योगपति गणेशभक्त साखःको ९२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि उद्योग व्यवसायमा सक्रिय साखःको शनिबार विहान निधन भएको परिवारिक स्रोतले जनाएको छ । गणेशभक्त साखः ग्रुपको अध्यक्षसमेत हुन ।
गणेशभक्त बुढ्यौली भए पनि व्यवसायमा सक्रिय थिए । गणेशभक्त भक्तपुर निवासी हुन । किरणप्रकाश, तेज प्रकाश, विश्वप्रकाश र ज्योतिप्रकाश साखः गणेशक्तका छोराहरु हुन । गणेशभक्तले स्थापना गरेको उद्योग व्यवसाय उनका छोराहरुले सम्हाल्दै आएका छन ।
उनका श्रीमति जनकलक्ष्मी र साहिँला छोरा प्रभातको निधन भइसकेको छ । पुराना उद्योगपति शाखःले भक्तपुर उद्योग वाणिज्य संघ स्थापना गरेका हुन । गणेशभक्तले भक्तपुरका अतिरिक्त काठमाडौंको हात्तिसारका साथै तिनकुनेमा व्यवसाय रहेको छ ।
ग्रुपमा नेपाल पेन्टस र साखः स्टिल, साखः मेटल एण्ड एलाइड इन्डस्ट्रिजका साथै प्रसुना गार्मेन्ट उद्योग पनि सञ्चालनमा छ । गणेशभक्तले २०७४ सालमा नेपाल चेम्बर अफ कमर्सले लाइफ टाइम एचिभमेन्ट अवार्ड पाएका थिए ।
यसरी सुरु भयो साखःको व्यवसाय
भक्तपुरका रैथाने गणेशभक्तका बाबुले भक्तपुरमा ठूलै व्यवसाय गरेर बसिरहेका थिए । भक्तपुरमा कृष्णभक्त रामभक्त साखःले कपडाको व्यापार चम्काइरहेका थिए । व्यापारको चमक बढ्दै गएपछि भक्तपुर, काठमाडौं र वीरगन्जमा समेत गोदाम राखेका थिए ।
भारतबाट सामान ल्याएर गणेशभक्तका बाबुले नेपालमा बेच्ने गर्थे । गणेशभक्त पनि बाबुसँगै सामानका लागि मुम्बई जाने–आउने गर्न थालेका थिए । पढाइसँगै व्यापारमा सहयोग पुर्याइरहेका गणेशभक्तलाई कमर्स पढ्ने इच्छा थियो । त्यस बखत नेपालमा कमर्स पढाइ हुँदैनथ्यो । बाबुसँग सामान लिन मुम्बई गएको बेला पढ्नका लागि उनी उतै बसे ।
नेपाल आएर २००८ सालदेखि उनी प्रत्यक्ष व्यापारमा लागेका थिए । उनका बाबुले भारतबाट सामान ल्याएर नेपालमा बिक्री गर्थे । गणेशभक्तले भने ती सामानको बिक्री बढाउन थाले । भारतबाट सीधै सामान ल्याएर बिक्री गर्ने सीमित व्यापारीहरुमा साखः परिवार पनि पर्थ्यो ।
सम्बन्धित समाचार
नेभर रिटायर्ड गणेशभक्त, सङ्घर्षका ८८ वसन्त
२०१४ सालमा नेपाल चेम्बर अफ कमर्समा आबद्ध भएका साखः २०२२ मा नेपाल उद्योग वाणिज्य महासघमा छिरेका थिए । उनी उद्योगीका तर्फबाट कार्यसमितिमा चुनाव लड्दै थिए । कसैले उनलाई उद्योग नभएको मान्छेले उद्योग वाणिज्य संघको चुनाव लड्न थाल्यो भनेर सुनायो, त्यसैको झोकमा उनले फोनिकल उद्योग सुरु गरे ।
इगोले सुरु भएको उनको उद्योग यात्रा विस्तार हुँदै गयो । २०३७ सालमा चाउचाउ र फर्मास्युटिकल्स उद्योग स्थापना भयो । त्यसपछि २०४१ सालमा नेपाल पेन्ट्स र साखः मेटल उद्योग । उद्योगको आकार बढ्दै गयो ।
उनका योजना र सपना पनि बढ्दै गए । साखः गु्रप अहिले स्टिल उत्पादनका लागि प्रसिद्ध छ । तर यो उद्योग सबैभन्दा पछि खोले गणेशभक्तले । २०५१ सालमा साखः स्टिल सुरु भयो । उद्योगबाट स्टिल उत्पादन गर्नै ४ वर्ष लाग्यो ।
साखःले जीवनको अन्तिम समयसम्म पनि नियमित अफिस पुगेर आफ्ना पुस्तालाई व्यापारको काउन्सिलिङ दिइरहेका हुन्थे । धेरै कुरामा सफलता हात पारेका गणेशभक्तलाई गार्मेन्ट व्यवसायमा भने सोचेजस्तो भएन । गणेशभक्तले रेडिमेड गार्मेन्टको व्यवसाय पनि गरेका थिए । ‘अमेरिकाले गार्मेन्टलाई आयात कोटाबाट हटाएपछि गार्मेन्ट व्यवसाय बन्द भयो । व्यवसायी साखः प्रति हार्दिक श्रद्धान्जली ।