काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एण्ड इनोभेसन समितिले समितिको कार्ययोजनाअनुसार मेन्टरसिप सहयोगसहित महासंघका लगानीकर्ताहरूसंग आबद्ध हुन इच्छुक उद्यमी (स्टार्टअप)हरूसँग शनिबारबाट आवेदन माग गरेको छ ।
आवेदन सबै क्षेत्र (जस्तो कृषि, उत्पादनमूलक, सूचना प्रविधि, सेवा) का लागि खुला गरिएको छ । समितिले गएको चैत ९ गते पत्रकार सम्मेलन गरी यस विषयमा विस्तृत जानकारी गराएको थियो । आवेदन महासंघको वेभसाइटमार्फत प्राप्त गर्न सकिनेछ ।
महासंघको स्टार्टअप एण्ड इनोभेसन समितिसँग आबद्ध रहेका लगानीकर्ताहरूको समूहमा रहेका लगानीकर्ताहरूको व्यावसायिक अभिरुचिलाई उद्यमीहरूको व्यवसायसँग मिलान गरी फलदायिक सहकार्यका लागि सहजीकरण गर्ने कार्यमा समितिले सहयोग गर्नेछ ।
नवप्रवर्तनीय वस्तु, सेवा वा प्लेटफर्मको परिवेश वा उपयोगमा सम्भाव्य व्यावसायिक मोडेलको स्थापना/स्तरोन्नति गर्ने प्रक्रियामा रहेका उद्यम वा व्यवसायहरूका लागि यो आवेदन गरिएको हो ।
एक वर्षभन्दा बढी समय अघिदेखि सञ्चालनमा आइरहेका र कम्तीमा पनि एक वर्षको लेखा परीक्षण प्रतिवेदन भएका, कानुनी रूपमा दर्ता व्यवसाय आवेदनका लागि योग्य मानिने छन् । आफ्नो व्यवसायमा सीप, ज्ञानको आधार र दह्रो प्रतिबद्घता प्रदर्शन गर्न सक्ने सशक्त समूहले यसमा आवेदन गर्न सक्नेछन् ।
आवेदनका साथ कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा कम्पनीको विधान (प्रबन्धपत्र, मेमोरेन्डम अफ एसोसिएसन आर्टिकल अफ एसोसिएसन र सम्बन्धित अन्य रजिस्ट्रेसनहरू, प्यान/भ्याट दर्ता, कर चुक्ता प्रमाणपत्रहरू, कम्पनीको सञ्चालक समितिको माइन्युट, कम्पनीका प्रवर्द्धक/संस्थापकहरूको बायोडाटा लगायतका आवश्यक दस्तावेजहरू संलग्न हुनुपर्छ ।