काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल चेम्बर अफ कमर्सको हालै सम्पन्न ७० औं वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्षसहित पदाधिकारीहरूको स्वागत गरेको छ । महासंघ र चेम्बर अफ कमर्सका पदाधिकारीहरूले निजी क्षेत्रका प्रतिनिधि संस्थाहरूबीच कार्यगत एकता अपरिहार्य रहेको बताए ।
निजी क्षेत्र एक ढिक्का भएर जान सकेमात्र उद्योग व्यवसाय क्षेत्र बलियो हुने, निजी क्षेत्रले उठाएका मुद्दाहरू कार्यान्वयन हुने र आर्थिक विकासमा समेत बलियो उपस्थिति जनाउन सकिने हुँदा संस्थागत सहकार्य र कार्यगत एकताको विषयलाई जोडतोडका साथ अगाडि बढाउनुपर्ने कुरामा दुवै संस्थाका पदाधिकारीहरूले जोड दिए ।
महासंघद्वारा नेपाल चेम्बर अफ कमर्सको हालै सम्पन्न ७० औं वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्षसहित पदाधिकारीहरूको स्वागतमा आइतबार महासंघ सचिवालयमा आयोजित कार्यक्रममा सो कुरामा जोड दिइएको हो ।
संस्थागत सहकार्य र कार्यगत एकताकै कारण पछिल्लो पटक कोभिडपश्चात् अर्थतन्त्रको पुनरुत्थानलगायत उद्योग व्यवसाय क्षेत्रलाई राहतका प्याकेज ल्याइनुपर्ने विषय, राजनीतिक दलबाट आह्वान भएको बन्द लगायतका विरोधका कार्यक्रम, कृषिमा विदेशी लगानी खुला गर्नेलगायतका विषयमा प्रतिनिधि संस्थाहरूको संयुक्त धारणाबाट निकै बलियो सन्देश गएको सो अवसरमा स्मरण गरिएको थियो ।
एकता नै बल हो भन्ने कुरालाई हामी तीनैवटा संस्थाहरूले मनन गरेर अघि बढ्नुपर्छ महासंघका अध्यक्ष शेखर गोल्छाले चेम्वरका पदाधिकारीहरूलाई स्वागत गर्दै भने, “हामी प्रतिस्पर्धी होइन एक अर्काका परिपूरक हौं र आउने समयमा पनि एक भएर हाम्रा मुद्दाहरूमा कार्यगत एकता गरांै, सहकार्यलाई घनिभुत ढंगले अगाडि बढाऔं । हामीले बोल्ने भाषा एकै हुनुपर्छ । हामीले एकता देखाउन सक्यौ भने हामी अझ बलियो हुन्छौं ।’
अध्यक्ष शेखर गोल्छाले महासंघले सार्वजनिक गरेको राष्ट्रिय आर्थिक रूपान्तरण २०३० सम्पूर्ण निजी क्षेत्रको दस्तावेजको रूपमा रहेकाले यसको सफल कार्यान्वयनबाट सिंगो निजी क्षेत्रको सम्मान बढ्ने पनि उनले स्पष्ट पारे । महासंघले अगाडि सारेको भिजन पेपरको स्वामित्व लिई सफल कार्यान्वयनमा समेत संस्थागत सहकार्य गर्न चेम्बरलाई आग्रह गरे । अध्यक्ष गोल्छाले महासंघ र नेपाल चेम्बरबीचको ऐतिहासिक सम्बन्धका वारेमा स्मरण पनि गरे ।
सो अवसरमा चेम्बरका नवनिर्वाचित अध्यक्ष राजेन्द्र मल्लले महासंघले चेम्बरका निर्वाचित पदाधिकारीहरूलाई स्वागत गरेकोमा खुशी व्यक्त गर्दै आफ्नो टिमले महासंघसँग संस्थागत सहकार्य गर्दै जाने प्रतिवद्धता जनाए । महासंघका अध्यक्षले संस्थागत सहकार्यका लागि राख्नु भएको प्रस्तावप्रति आफ्नो पूर्ण समर्थन रहेको जनाउँदै अध्यक्ष मल्लले चेम्बर र महासंघ बीचको ऐतिहासिक सम्बन्ध अत्यन्त प्रगाढ रहेको र उक्त सम्बन्धलाई थप प्रगाढ बनाउँदै लैजाने विश्वास दिलाए ।
अध्यक्ष मल्लले महासंघले अघि सारेको भिजन पेपरको कार्यान्वयनमा के कसरी सहकार्य गरि अघि बढ्न सकिन्छ त्यसमा आफ्नो पूर्ण समर्थन रहने प्रतिवद्धता जनाए । बजेट ल्याउने तर कार्यान्वयन नहुने सरकारको समस्या रहेकाले बजेटमा उल्लेख गरिएका कार्यक्रमको पूर्ण कार्यान्वयनका लागि पनि एकताबद्ध भएर पहल गर्नुपर्ने अवस्था रहेको उहांले बताए । हामीबीचको संस्थागत सहकार्य र कार्यगत एकता भोलिका पिंँढीहरूका लागि पनि उदाहरणीय बनाउनुपर्नेमा उनको सुझाव थियो ।
स्वागत कार्यक्रममा कोभिडको दोस्रो लहर आएको सन्दर्भमा लकडाउनका कुरासमेत आउन थालेकाले लकडाउन नै अहिलेको समस्याको समाधान नभएको र मुलुकको अर्थतन्त्रले अब अर्को लकडाउन थेग्न नसक्ने हुँदा अर्थतन्त्र र स्वास्थ्य सचेतनालाई एकैसाथ लैजाने तर्फ पहल हुनुपर्ने र महासंघ, चेम्वर र परिसंघ बीच संस्थागत सहकार्य र कार्यगत एकतालाई अगाडी बढाउन दुई÷दुई जनाको एक समिति गठन गरी सोही समितिमार्फत कार्य गर्न उपयुक्त हुने सुझाव पनि सो अवसरमा राखिएको थियो ।
कार्यक्रममा महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघई, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, कार्यकारिणी समितिका सदस्यहरू, चेम्बरका तर्फबाट वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दिपकुमार मल्होत्रा, उपाध्यक्ष दीपक श्रेष्ठ, उपाध्यक्ष उर्मिला श्रेष्ठ, उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठ, उपाध्यक्ष त्रिभुवनधर तुलाधरको सहभागिता रहेको थियो ।