काठमाडौं । नेपालमा प्रतिबद्धता प्राप्त गरेको भन्दा धेरै कम मात्रमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिने गरेको छ । हालसम्म कुल प्रतिबद्धताको ३४.१ प्रतिशत मात्र विदेशी लगानी आउने गरेको तथ्य नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।
सन् १९९५ देखि २०२० सम्म आइपुग्दा उत्पादनमूलक, सेवा, बैंक तथा वित्तीय र पछिल्लो समयमा ऊर्जामा गरी कुल १ खर्ब १० अर्ब ९३ करोड रुपैयाँ बराबरको मात्र प्रत्यक्ष वैदेशिक लगानी प्राप्त भएको छ । यस अवधिमा विभिन्न विदेशी कम्पनीहरुले ३ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ नेपालमा लगानी गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रतिबद्धताको तुलनामा प्राप्त हुने रकम धेरै कम रहेको केन्द्रीय बैंकले जनाएको छ । ठूला आयोजनामा लगानी ल्याउने काम लगानी बोर्डले गर्दै आएको छ । बोर्डमा २ खर्ब रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता प्राप्त भएको छ । सन २०१९/०२० मा प्रतिबद्धताको ५१ प्रतिशत वैदेशिक लगानी प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ । सो वर्ष ३८ अर्ब १५ करोड रुपैयाँको प्रतिबद्धता प्राप्त भएकोमा १९ अर्ब ५० करोड रुपैयाँको मात्र लगानी आएको छ ।

सन् २०११/०१२ मा प्रतिबद्धता गरेको भन्दा १२८ प्रतिशत बढी वैदेशिक लगानी प्राप्त भएको थियो । सो वर्ष ७ अर्ब १३ करोड रुपैयाँको लगानीको कुरा भएकोमा ९ अर्ब १९ करोड रुपैयाँको प्राप्त भएको थियो । यस्तै आन्तरिक द्दन्द्द चरम अवस्थामा रहेकाले सन २००३/०४ मा वैदेशिक लगानी प्रतिबद्धता र प्राप्त दुबै शून्य अवस्थामा थियो । २ अर्ब रुपैयाँबाट सुरु भएको वैदेशिक लगानी अहिले वार्षिक साढे १९ अर्ब रुपैयाँसम्म पुगेको छ । सन २०१९/०२० मा १९ अर्ब ५० करोड रुपैयाँ प्राप्त भएको छ ।
नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१.१ प्रतिशत सेवा क्षेत्रमा र ४८.८ प्रतिशत औद्योगिक क्षेत्रमा लगानी रहेको देखिन्छ । सेवा क्षेत्रअन्तर्गत कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.४ प्रतिशत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा छ । त्यसैगरी औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८.६ प्रतिशत र जलविद्युत क्षेत्रमा २० प्रतिशत वैदेशिक लगानी छ ।
यो पनि हेर्नुहोस
डलरमा लाभांश भुक्तानी बढ्दो, विदेशी लगानीमा भएको मौज्दात घटेर १८३ अर्ब मात्र
सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७५/०७६ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८.८ प्रतिशतले कमी आई १८२ अर्ब ९२ करोड रुपैयाँ कायम रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ४८.२, सञ्चित रकम ४२.८ र कर्जाको अंश ९ प्रतिशत रहेको छ । सञ्चि कोषको अंश २७ प्रतिशतले घटेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा मौज्दातमा कमी आएको हो ।
त्यसैगरी, २०७६ असार मसान्तसम्ममा नेपालमा ५३ देशहरूको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात ५६ अर्ब ५ करोड र त्यसपछि क्रमशः चीनबाट २७ अर्ब ५६ करोड, सेन्ट किष्टस एण्ड नेभिसबाट २४ अर्ब ९४ करोड, आयरल्याण्डबाट ११ अर्ब ५९ करोड र सिङ्गापुरबाट ८ अर्ब ७३ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।
लगानी बोर्डमार्फत ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना, होङसी शिवम् सिमेन्ट, हुवासिन सिमेन्टको लगानी आइसकेको छ । विदेशी लगानीमा युनिलिभर नेपाल लिमिटेड, डाबर नेपाल, एसियन पेन्ट्सलगायत कम्पनीहरु रहका छन ।
राष्ट्र बैंकले प्रतिबद्धताभन्दा कम लगानी आउनुको कारण भने खुलाएको छैन । सुरुमा प्रतिबद्धता हुने तर लगानी गर्ने बेला सबै कुराहरु हेरिने भएकाले प्रतिवद्धताअनुसार लगानी नआउने गरेको अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार तथा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन ।
लगानीकर्ताले उद्योग परियोजनाको संभाव्यता, बजार, निकासीको संभावना हेर्ने गरेको उनको भनाई छ । ‘नेपाल भुपरिवेष्ठित मुलुक भएकाले निकासी सहज छैन । प्रतिबद्धता भनेको योजना तयार गर्दै जाँदा पछि विभिन्न कारणले लगानी गर्ने सोचमा परिवर्तन भएर कम आउने गरेको होला’ उनले भने ।

