काठमाडौं । विदेशी कम्पनीहरुले लाभांश भुक्तानी लैजाने क्रम बढ्दै गएपछि नेपालमा विदेशी लगानीमा भएको मौज्दात रकम (एफडीआई स्टक ) कम हुँदै गएको छ । विदेशी लगानीमा सञ्चालनमा रहेका अधिकाँश कम्पनीले नेपालबाट लाभांशवापत ठूलो रकम विदेशमा लैजादाँ यसको असर विदेशी लगानीमा भएको मौज्दातमा परेको हो ।
नेपाल राष्ट्र बैंकले गरेको अध्ययन प्रतिवेदनले विदेशी लगानी मौज्दात रकम कम हुँदै गएको देखाएको छ । लाभांश भुक्तानी बढी गएपछि आर्थिक वर्ष ०७५/०७६ मा नेपालमा रहेको वैदेशिक लगानी मौज्दात रकम ८.८ प्रतिशतले घटेर १ खर्ब ८२ अर्ब ९१ करोड ९६ लाखमा झरेको छ ।
आर्थिक वर्ष ०७४/०७५ मा यस्तो रकम २ खर्ब रुपैयाँ माथि थियो । सो आर्थिक वर्षमा २७ अर्ब ७८ करोड ३० लाख रुपैयाँ लाभांशका रुपमा विदेशिएको छ । त्यो भन्दा अघिल्लो वर्ष ०७४/०७५ मा ३९ अर्ब ५३ करोड रुपैयाँ लाभांश विदेशिएको थियो ।

०७५/०७६ मा मोवाइल सेवा प्रदायक कम्पनी एनसेल आजिआटा लिमिटेडले ठूलो रकम लाभांशको रुपमा फिर्ता लगेपछि त्यसको असर मौज्दात रकममा परेको हो । त्यसबेला एनसेलले १२ अर्ब ५४ करोड रुपैयाँ लाभांशको रुपमा विदेश लगेको थियो । यस्तै ०७४/०७५ मा एनसेलले २३ अर्ब ७४ करोड रुपैयाँ लगेको थियो ।
यद्यपी एनसेलले लाभांश नलगेका कारण लाभांश भुक्तानी आर्थिक वर्ष ०७६/०७७ मा टेलिकम कम्पनीको लाभांश फिर्ता शून्य छ । एनसेलले नलगेका कारण गत आर्थिक वर्षमा लाभांश भुक्तानी रकम घटेको छ ।
आर्थिक वर्ष ०७२/०७३ र ०७३/०७४ मा विदेशी लगानीमा रहेको मौज्दात रकम क्रमश १ खर्ब ३७ अर्ब ६७ करोड र १ खर्ब ६८ अर्ब ६१ करोड रुपैयाँ थियो ।
गत आर्थिक वर्षको अध्ययन प्रतिवेदन आउन बाँकी रहेको अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए । उनले विदेशी लगानीको रकम घट्न थालेका जानकारी दिए । मौज्दातमा विदेशी कम्पनीहरुको चुक्ता पुँजी, सञ्चित कोष र ऋण लगानीलाई समावेश गरिएको हुन्छ ।

यसबीचमा चुत्ता पुँजी १४.७ प्रतिशतले बढेर ८८ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । यस्तै सञ्चित रकम २७ प्रतिशतले घटेर ७८ अर्ब ३८ करोडमा झरेको छ । कम्पनीहरुले नेपालमा गरेको नाफाबाट लाभांश लगेपछि सञ्चित रकम घटेको हो ।
ऋण लगानी रकम ०.५ प्रतिशतले बढेर १६ अर्ब ३७ करोड रुपैयाँ पुगको राष्ट्र बैंकले जनाएको छ । विदेशी लगानीको मुख्य अंश चुक्ता पुँजीको छ । ०७४/०७५ मा चुक्ता पुँजीको अंश ३८.३ प्रतिशत छ । यसैगरी सञ्चित कोषको ५३.६ र ऋणको हिस्सा ८.१ प्रतिशत रहेको छ ।
विदेशी मुद्रा सञ्चितीमा सबैभन्दा ठूलो हिस्सा उत्पादन तथा खानीको छ । यो क्षेत्रको हिस्सा २३.५, वित्तीय मध्यस्तकर्ताको ११.१, विद्युत ग्याँस र पानीको १९.६, यातायात, स्टोरेज र टेलिकम्युनकेसनको ५९ प्रतिशतले घटेको छ ।
यस्तै विदेशी लगानी मौज्दात सबैभन्दा बढी भारतीय लगानीमा स्थापना भएको कम्पनीको छ । कुल रकमको ३० प्रतिशत अर्थात ५६ अर्ब रुपैयाँ रहेको छ ।
चीनको १५.१ प्रतिशत अर्थात २७ अर्ब ५६ करोड र सेन्टसस् अफ नेभिजको १३.६ प्रतिशत अर्थात २४ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । विदेशी लगानीमा नेपालमा सञ्चालित ५३ कम्पनीको सर्वेक्षण गरिएको थियो । केहीले नाफा गरे पनि नेपालमै राख्ने गरेका छन ।