काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) को पदाधिकारी समितिकोे आकस्मिक बैठकले कोभिड–१९ को दोस्रो लहरसँगै देशमा देखिँदै गएको असहज परिस्थितिमाथि गम्भीर छलफल भएको छ । पछिल्लो समय छिमेकी मुलुक भारतमा देखिएको गम्भीर परिस्थिति र नेपालमासमेत कोरोना भाइरसको जोखिम बढ्दै गइरहेको परिप्रे्रक्ष्यमा सरकार र उद्योग क्षेत्रले के कस्ता तयारी गर्नुपर्छ भन्नेबारे सुझाव समेत दिएको छ ।
विशेषगरी कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गइरहेकोले सरकारबाट खोप खरिद प्रक्रियालाई पहिलो प्राथमिकतामा राखी तुरुन्त खोप लगाउने कार्य थाल्नुपर्ने निश्कर्ष परिसंघको छ । खोप आयातमा निजी क्षेत्रलाईसमेत सामेल गराएर अरु देशका खोपहरुलाई फास्टट्रयाकमा अनुमति प्रदान गरी खोपलाई अभियानको रुपमा नेपालभरअघि बढाउने टड्कारो आवश्यकता रहेको परिसंघले जनाएको छ ।
परिसंघले अहिलेको अवस्थामा आपूर्ति व्यवस्थालाई सुदृढ गर्नको लागि उद्योग व्यवसाय र यातायात क्षेत्रमा काम गर्ने कर्मचारी र मजदुरलाई खोपको व्यवस्था गर्न माग गरेको छ ।
त्यसैगरी, अक्सिजनको आपुर्ति व्यवस्थालाई सहज बनाउन उद्योगहरुसँग समन्वय गरी अक्सिजन सिलिन्डरको आयातमा भन्सार छुट दिने र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिन सरकारसँग आग्रह गरिएको छ ।
हामीले कोभिडको पहिलो लहरबाट पाठ सिकेर उपचारमा आवश्यक बेड, औषधि, भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्रीको अभाव हुन नदिन अहिले नै तयारी गर्नुका साथै क्षमता अभिवृद्धि समेत गर्न परिसंघको सुझाव छ । निजी क्षेत्रले कोभिडको नियन्त्रण गर्न औषधि एवं स्वास्थ्य उपकरण र खाद्य क्षेत्रमा कुनै खर्च गरेमा त्यसलाई सामाजिक उत्तरदायित्वको रुपमा लिएर आयकरमा छुटको व्यवस्था गरेमा कोभिड विरुद्धको युद्धमा सहभागी हुन निजी क्षेत्रलाई उर्जा प्रदान हुने परिसंघको सुझाव रहेको छ ।
दैनिक उपभोग्य वस्तुको आपुर्तिका लागि उद्योगको सञ्चालन अपरिहार्य छ । त्यसैले, सुरक्षाका प्रोटोकल बनाई, तिनीहरुको पूर्ण पालना गरी त्यस्ता उद्योगधन्दालाई सञ्चालन गर्न छुट दिन परिसंघ सरकारसँग आग्रह गर्दछ । कुनै कर्मचारी वा मजदुरमा लक्षण देखिएमा उनीहरुको पीसीआर गराउने र क्वारेन्टाइनको व्यवस्था मिलाई दिन परिसंघ सम्पूर्ण उद्योगीव्यवसायीसँग आग्रह गर्दछ ।
जिल्लामा रहेका होटलहरुलाई सहमतिको आधारमा कोभिड केयर सेन्टर तथा अस्पतालको रुपमा अघि बढाउन सरकारलाई परिसंघले सुझाव दिएको छ । आपूर्ति व्यवस्थालाई सहज र व्यवस्थित बनाउनको लागि बोर्डर पारीबाट सामान लिएर आउने वाहन चालकहरुको एन्टिजेन परिक्षण गरि सहज आवतजावतको व्यवस्था मिलाउन परिसंघले आग्रह गरेको छ ।
सरकारले कोरोनाको जोखिम कम गर्न तोकेका मापदण्डहरुको वेवास्ता गर्नाले अवस्था अनियन्त्रित बन्दै गइरहेको तर्फ संकेत गर्दै सर्वसाधारणलाई स्वास्थ्य मापदण्ड पालना गराउन जोड दिनुका साथै जटिल परिस्थिति भएका क्षेत्रमा नियन्त्रित लकडाउन गर्नुपर्ने धारणा परिसंघको छ ।
सीमामा गरिने क्वारेन्टाईन तथा टेस्टिङले लक्षित नतिजा नदिएको र नेपाल भारतको लामो खुल्ला सीमाका कारण समेत यो व्यवहारिक तथा प्रभावकारी नदेखिएकोले सीमाबाट मानव आवत जावतलाई पहिलेजस्तै बन्द गर्नुपर्ने सुझाव परिसंघको छ । त्यसैले, नेपाललाई ट्रान्जिटका रुपमा प्रयोग गरी मानव आवतजावत भइरहेकोले यसलाई निरुत्साहित गर्नुपर्ने देखिन्छ ।
सरकारले सम्पूर्ण मनोरञ्जनात्मक जमघट, पार्टी, सभा, सम्मेलन तथा मठमन्दिर, मस्जिद र चर्च जस्ता धार्मिक क्षेत्रहरु तत्काल बन्द गर्नुपर्ने धारणा परिसंघको रहेको छ । परिसंघले तुरुन्तै कार्यान्वयन गरिनुपर्ने विषयहरुमा सरकारलाई सुझाव दिँदै पिसिआर परिक्षण क्षमतालाई व्यापक वृद्धि गर्न, सार्वजनिक सावारीसाधानमा यात्रुको संख्यालाई कम गर्न, आवश्यक परेमा यातायात व्यवसायीलाई राहतका प्याकेज घोषणा गर्न, वस्तु तथा सेवाको आपूर्तिमा सहजताको सुनिश्चिता गर्न सुझाव दिएको छ ।