काठमाडौं । कोभिड १९ को दोस्रो लहरसँगै बन्दाबन्दी÷निषेधाज्ञाको डरले सेयर बजारबाट लगानीकर्ताहरु बाहिरिन खोजेका छन् । सरकारले दोस्रो चरणको कोभिड देखिएको भन्दै देशभरका शिक्षालयहरु बन्द गर्न निर्देशन दिइसकेको छ ।
आइतबार पनि कोरोना कहरकै त्रासमा लगानीकर्ता आत्तिँदा ७५ अंक भन्दा बढीले सेयर बजार ओरालो लागेको थियो । सोमबार पनि बजारले आरोलो यात्रालाई पच्छ्याएको छ । सोमबार कारोबार सुरु भएको एक घण्टा पनि सुधारिने संकेत देखिए पनि बजार टिक्न सकेन र निरन्तर ओरालो लागेर २५०० को विन्दूमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइपुग्यो ।
२०७८ को पहिलो दिन बैशाख २ गते नेप्से हालसम्मकै उच्च २७३५.४ विन्दूमा पुगेको थियो । बैशाख लागेसँगै कोभिडको व्यापक हल्ला हुँदै आएको छ । गतसाता नेपालगन्ज उपमहानगरपालिकालगाय मुलुकका विभिन्न ठाउँमा लकडाउन÷निशेषाज्ञा गरी गरेका थिए । त्यसको असर विस्तारै सेयर बजारमा पनि पर्दै आएको छ र बजार निरन्तर घट्दो क्रममै थियो ।
सेयर बजार घटाउने र बढाउने समूहबीच तीब्र चलखेल
तर, आइतरबार र सोमबार भने घट्ने चरण तीब्र रुपमा बढेको छ । दुई दिनमा मात्रै बजार १४० अंकले घटेर २५०६.६१ अंकमा कारोबार रोकिएको छ । बैशाख दुईयता मात्रै झण्डै २३० अंकले बजार सूचक झरेको छ । लगानीकर्तामामा अब के होला ? अझै घट्ने हो कि ? लकडाउन भयो भने सूचीकृत कम्पनीहरुको व्यावसायिक वातावरण पनि खल्बलिने र त्यसले समग्र बजारलाई प्रभावित पार्ने भन्दै आत्तिकएका छन् । र त्यसको असर बजारमा पोखिएको छ ।
निरन्तरको दबाबले लगानीकर्ता घाटमै सेयर बेच्न बाध्य छन् । बढी घाटा ब्यहोर्नुभन्दा कम घाटा खाएरै बजारबाट उत्रनु फाइदाजनक हुने भन्दै लगानीकर्ताहरुले बिक्रीको चाप बढाएका छन् । तर, ठूला लगानीकर्ता भने साना लगानीकर्ताको आतंक सकिएसँगै न्यून विन्दूमा आइपुग्दा बजार प्रवेश गर्ने उपयुक्त समय भनेर पर्ख र हेरको अवस्थामा छन् । यद्यपि, प्राविधिक विश्लेषण र सूचीकृत कम्पनीहरुको ९ महिनासम्मको वित्तीय विवरणले लगानीकर्ता आत्तिनुपर्ने अवस्थामा नभएको देखाउँछ ।
सोमबार कारोबार रकम भने घटेको छ । आइतबार ७५ अंकले नेप्से घट्दा ७ अर्ब रुपैयाँ भन्दा बढी कारोबार भएकोमा सोमबार भने ६ अर्ब ५९ करोडमा सीमित भएको छ । लगानीकर्ताका लागि कारोबार रकम घट्नु चिन्ताको विषय हो । तर, सेयर मूल्य घटेसँगै कारोबार रकम घट्नु अन्यथा होइन । सोमबार पनि नेप्सेमा वर्गिकृत सबै समूह सूचकहरु राताम्य भएका छन् ।
घट्दो बजारमा पनि बिशाल बजार कम्पनी र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यले सकारात्मक सर्किट लगाएका छन् । त्यसपछि सेयर मूल्य बढ्नेहरुमा डिबेन्चर र म्युचुअल फन्डहरु छन् ।
सेयर मूल्य घट्नेमा सबैभन्दा बढी रिलाइन्स फाइनान्सको ८ प्रतिशत छ । सोमबार माथिल्लो तामाकोसीको सबैभन्दा बढी ३१ करोड ७४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।