काठमाडौं । एउटै कन्टेनरमा विभिन्न किसिमका सामान ल्याए त्यस्ता सामानको भन्सार नहुने भएको छ । सरकारले कोरोना संक्रमणलाई न्यूनीकरण गर्न भन्दै एउटा कन्टेनरमा एकै प्रकारका सामानको मात्रै भन्सार जाँचपास गराउन लागेको हो ।
उक्त व्यवस्था कार्यान्वयनमा लागि भन्सार विभागले विभिन्न भन्सार कार्यालयलाई परिपत्रसमेत गरिरहेको छ । वैशाख १२ गतेदेखि एउटा कन्टेनरमा एकै किसिमका सामान ल्याउनुपर्ने छ । यदि कुनै व्यापारीले एउटै कन्टेनरमा विभिन्न किसिमका समान ल्याएको पाइए त्यस्ता सामानको भन्सार पास नगरिने भन्दै उद्योगी व्यवसायीलाई सोहीअनुसार मात्रै सामान मगाउन भन्सार कार्यालयले भनिसकेका छन् ।
‘कोरोना संक्रमणलाई मध्यनजर गरेर यस्तो व्यवस्था लागू गरिएको हो,’ भन्सार विभागमा महानिर्देशक यामलाल भुषालले भने, ‘स्वास्थ्य मापदण्ड पालना गर्न विभागले भनेको छ । के गर्दा स्वास्थ्य मापदण्ड पालना गर्न सकिन्छ भन्ने सन्दर्भ भन्सार कार्यालयले एउटा कन्टेनरमा एकै प्रकारमा सामान हुनुपर्छ भनेका हुन सक्छन् ।’
कतिपय सामान एक कन्टेनर ल्याउँदा नेपालमा खपत हुन वर्षौं लाग्छ । वर्षौंसम्म नबिक्दा सामानको मिति सकिने र त्यसलाई नष्ट गर्नुपर्दा व्यापारीको ठूलो नोक्सान हुने गरेकाले एउटै कन्टेरमा आएका विभिन्न सामानलाई सरकारले भन्सार पास गराउनुपर्ने बताउँछन् ।
‘थोरै परिमाणमा सामान आवश्यक परेको हुन्छ । त्यस्ता सामान थोरै मात्रै मगाइन्छ,’ एक व्यापारीले भने, ‘त्यस्ता सामानको अबदेखि भन्सार जाँचपास नहुने भन्सारका अधिकारीले जानकारी गराएका छन् ।’
व्यापारीले नेपाललाई चाहिएजति मात्रै सामान मगाइरहेकोमा अब त्यस्ता सामान नल्याउने सम्भावना बढेको छ । त्यस्ता सामान नल्याउँदा देशमा ती सामानको अभाव हुन सक्ने उद्योगी/व्यवसायीको भनाइ छ ।
भन्सारका महानिर्देशक भुषालले सरकारले एउटै कन्टेनरमा ल्याइएका विभिन्न थरी सामान पास नगराउने भनेको होइन् । त्यस्ता सामानको जाँचपास गर्दा संक्रमणको बढी जोखिम हुने भएकाले भन्सार कार्यालय आफंैले उचित व्यवस्थापन गर्ने बताए ।
खुद्रा सामान आउँदा हरेकले प्रज्ञापनपत्र लिएर भन्सार कार्यालय पुग्नुपर्छ । एउटै कन्टेनरमा एकै प्रकारको मात्रै सामान ल्याए एक जना मात्रै प्रतिनिधि भन्सार कार्यालय पुग्दा हुन्छ । एक जना जाँदा जति जोखिम हुन्छ, धेरै मान्छे जना कैयौं गुणा बढी जोखिम हुने महानिर्देशक भुषालको भनाइ छ ।
यस्तो छ भन्सारले दिएको निर्देशन
कोभिड–१९ को महामारीको संक्रमण बढ्दै गएको र यस कार्यालयमा कर्मचारीहरुसमेत संक्रमित भएको हुँदा कार्यालयको कामकाजमा अनावश्यक भीडभाड गर्न तथा मास्क तथा स्वास्थ्य सुरक्षाको सामग्रीको प्रयोग गरी कार्यालयमा प्रवेश गर्न पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ ।
वैशाख १२ गते आइतबारदेखि खाद्यान्न, स्वास्थ्य तथा औषधिजन्य मालवस्तुहरु, पेट्रोलियम पदार्थ, लटका सामानहरु, सवारी साधनहरु र अत्याश्यक बाहेक अन्य खुद्रामाल वस्तु बोकेका गाडी चेक जाँच नहुने व्यहोरा सरोकारवालाहरु सबैको जानकारीका लागि अनुरोध छ ।