काठमाडौं । निषेधाज्ञा कडाई गर्ने नाममा खाद्यान्न, औषधिलगायतका अत्यावश्यक सामग्री बोकेका गाडीलाई प्रहरीले रोकेर चालक तथा सहचालकलाई बग्गिखाना पुर्याएको छ ।
सरकारले अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधनलाई निर्वाध रुपमा चल्न दिने बताए पनि प्रहरीले ठाउँ ठाउँमा रोकेर दुख दिएको उद्योगीहरुले बताएका छन् ।
अस्पतालका लागि औषधि बोकेर हिडेको अक्सिनका सिलिन्डर, औषधि, खाद्यान्न, तरकारीलगायतका गाडीलाई रोकेर दुख दिएको उद्योगीहरु बताउँछन् । ‘औषधिका गाडीलाई चल्न पाइँदैन भन्दै चालक र सहचालकलाई ओरालेर बग्गिखाना लगिएको छ,’ एक उद्योगीले भने, ‘सरकारले बनाएको मापदण्ड पालना गरेर हिड्दा पनि प्रहरीले दुख दिएको हो ।’
गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले अत्यावश्यक सामग्री बोकेका गाडीहरुलाई निर्वाध रुपमा चल्न दिने निर्णय भएकाले रोक्न नहुने बताए । ‘अत्यावश्यक सवारी साधनलाई रोक्न मिल्दैन्,’ उनले भने, ‘केही कैफियत भेटिएकाले प्रहरीले रोेकेको होला । नत्रभने कुनै हालतमा रोक्न मिल्दैन ।’
सरकारले नेपाल प्रहरीलाई कस्ता कस्ता सवारी साधन चल्न दिने र कस्ता कस्ता सवारी साधन चल्न नदिने भएर प्रष्ट निर्देशन भइरहेको न्यौपानेले बताए ।
गत चैतमा भएको लकडाउनमा पनि प्रहरीले अत्यावश्यक सामान ढुवानीमा यस्तै अवरोध गरेको थियो । सरकारले त्यस्ता सामग्री बोकेका सवारी साधनलाई कुनै रोकतोक नगर्ने निर्णय गरे पनि फिल्डमा खटिने प्रहरीले रोक्दा ठूलो समस्या उत्पन्न भएको थियो । अहिले पनि सोही समस्या दोहोरिएको उद्योगीहरु बताउँछन् ।

प्रहरीको नेतृत्वले आफ्नो तल्लो तहका कर्मचारी वा फिल्डमा खटिने प्रहरीलाई राम्रोसँग बुझाउन नसक्दा यस्तो समस्या भएको उद्योगीको निश्कर्ष छ । विपद् वा संकटमा बेला जहिले पनि प्रहरीको तल्लो तहले आफ्नो तज्विजमा काम गरेकाले समस्या उत्पन्न भएको उनीहरु बताउँछन् ।