काठमाडौं । सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेपछि ८ खर्ब रुपैयाँ बराबरका विकासे आयोजना अलपत्र परेका छन् । सरकारले आवातजावातमा पूर्णरुपमा रोक लगाएपछि निर्माणजन्य सामग्री नहुँदा आयोजनाको काम ठप्प भएको नेपाल निर्माण व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले बताए ।
विकासे आयोजनाको कामलाई सुचारु गराउन महासंघले निरन्तर पहल गरेको थियो । तर, त्यो सम्भव नभएपछि चालू अवस्थामा रहेका सम्पूर्ण आयोजनाको निर्माण कार्य रोकिएको पाण्डेले जानकारी दिए ।
कतिपय आयोजनाहरु निर्माण सम्पन्न हुने चरणमा थिए । ती आयोजनाको पनि समय लम्बिने अवस्था भइसकेको छ । यसअघिको लकडाउन र निषेधाज्ञाका कारण समयमै सम्पन्न हुन नसकेका कतिपय आयोजनाहरु अहिले पूरा हुने अवस्थामा पुगेका थिए । ती आयोजनाको काम पनि रोकिएको उनको भनाइ छ ।
कोरोनो संक्रमणको दर उच्च हुँदै गए पनि निर्माणजन्य सामग्री उत्पादन गर्ने उद्योगहरु बन्द छन् । उद्योगीले आफ्ना कर्मचारीलाई उद्योगभित्रै राखे पनि सरकारले ढुवानी बन्द गरेपछि त्यसको असर आयोजनामा परेको हो ।
‘ढुवानी गर्न पाइँदैन । उत्पादित सामान एक आयोजनास्थलसम्म लैजान नसक्ने बित्तिकै उत्पादन गर्नुको कुनै अर्थ छैन् । गोदामको पनि सीमित क्षमता हुन्छ,’ नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश अग्रवालले भने, ‘माग शुन्यमा झर्ने बित्तिकै उत्पादन स्वतः घट्छ । यदि कुनै उद्योगको स्टोरेज क्षमता बढी भएमा उनीहरुले उत्पादन गरेर गोदाममा राख्न सक्छन् ।’
सरकारको निषेधाज्ञाका कारण राष्ट्रिय गौरवका आयोजनादेखि स–साना गरी ७ हजार आयोजनाको कामसमेत रोकिएको छ । एकातिर आवश्यक सामग्री ढुवानी गर्न सकिएको छैन भने अर्कोतिर कामदार पनि आयोजनास्थलसम्म पुर्याउन नसकिएको पाण्डेले बताए ।