काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई ल्याएको नयाँ निर्देशनमा पुनरावलोकन नगर्ने भएको छ । स्प्रेडदरको नयाँ गणनाविधि, पुँजीकोष वृद्धि र बैङ्कासुरेन्स खारेजको विषयमा बैङ्करहरुले तिब्र असन्तुष्ठि जनाइरहेका बेला केन्द्रीय बैङ्क यसमा तत्काल पुनरावलोकन नगर्ने पक्षमा छ ।
भरर्खरै नयाँ निर्देशन जारी भएकाले यसमा पुनरावलोकन नहुने राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए । क्यापिटल नेपालसंग कुरा गर्दै उनले भने ‘ म यति मात्र भन्छु, तत्काल यस विषयमा केही परिवर्तन हुदैन ।’
राष्ट्र बैङ्कका प्रवत्ता लक्ष्मीप्रपन्न निरौलाले पनि बैङ्करले भनेका कुनै पनि कुरामा पुनरावलोकन हुन नसक्ने बताए । भरखरै निर्देशिका जारी भएकाले तत्काल पुनरावलोकन र परिमार्जन हुने संभावना नरहेको निरौलाले स्पष्टपारे ।
उनले बैङ्कहरुलाई मर्जरमा जानका लागि यो स्प्रेडदर गणनाविधि, पुँजीकोष वृद्धि गरिएको संकेत गरे । बढी नाफा कमाउन र सहुलियत लिन मर्जरमा जान निरौलाले बैङ्कहरुलाई सुझाव दिएका छन् । मर्जरमा जाने बैङ्कलाई सहुलियत धेरै भएको जिकिर गरे ।
बैङ्कहरुको सञ्चालक समितिले मर्जरमा जाने निर्णय गर्ने तर कार्यन्वयनमा आलटाल गरेर नाफा घट्ने भयो भनेर कराएर हुन्छ ? उनले भने । सञ्चालक समितिले गरेको निर्णय कानून सरह भएकाले यसलाई कार्यन्वयन गर्न बैङ्करलाई प्रवत्ता निरौलालले सुझाए ।
उनले भने ‘मर्जरमा गए धेरै सहुलियत पाइन्छ, सञ्चालक समितिले गरेको निर्णय कार्यन्वयन गर्नुपर्छ ।’ २२ ओटा वाणिज्य बैङ्कले मर्जरमा जानका लागि केन्द्रीय बैङ्कमा प्रतिवद्धता बुझाएका थिए ।
मौद्रिक नीतिमा फोर्स मर्जर नभई जानेलाई सहुलियतको व्यस्था गरेपछि तनावमुक्त भएका बैकर नयाँ निर्देशनपछि सशंकित बनेका छन् ।ग्लोबल आईएमई र जनता बैङ्कबाहेक अन्य मर्जरमा नजाने दखिएको छ ।
केन्द्रीय बैङ्कले सिधै फोर्स मर्जर नभनेर सहुलियत कटौती गरेर मर्जरमा जान दवाव दिएको निर्देशनले स्पष्टपारेको छ । राष्ट्र बैङ्कको स्प्रेडदरको नयाँ गणनाविधिले उद्योगी, व्यवसायीले सस्तो दरमा कर्जा पाउने देखिएको छ । स्प्रेडदर गणना विधिले कर्जाको ब्याजदर १.५ प्रतिशतसम्म सस्तो हुने देखिएको छ ।
केन्द्रीय बैङ्कले स्प्रेडदर ४.४ प्रतिशतमा झार्न भनिरहेका बेला नयाँ गणनाविधिले स्प्रेडदर औसत ३.२ प्रतिशतमा झर्ने बैङ्करको भनाई छ । बैङ्करहरुको आम्दानीमा गिरावट आई नाफा घट्ने देखिएपछि उनीहरुले तिब्र असन्तुष्ठि जनाएका छन् ।
नयाँ निर्देशनले बैङ्कको नाफमा गिरावट आउनुका साथै प्रणालीमा समस्या आउने हिमालयन बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोकशम्सेर राणाको भनाई छ ।
नेपाल बैङ्कर्स एसोसियसनको बुधबार बसेको पुर्ण बैठकले स्प्रेडदर गणनाविधि, पुँजीकोष वृद्धि र बैङ्कासुरेन्स गर्न नपाउने नीतिमा पुनरावलोकन गर्न केन्द्रीय बैङ्कलाई अनुरोध गरेको छ ।
राष्ट्र बैङ्कले जारी गरेको निर्देशिकामा बैङ्कहरुले सरकारी सुरक्षणमा गरेको लगानीबाट प्राप्त आम्दानीलाई स्प्रेडमा गणना गर्न नपाउने व्यवस्थाले नाफामा कमी आउने तर्क उनीहरुको छ ।
स्प्रेडदरमा गरिएको आकास्मिक परिमार्जनले बैङ्किङ क्षेत्रमा २५ प्रतिशत अर्थात ३० अर्ब रुपैयाँ नाफामा संकुचनमा आउने संघले जानकारी दिएको छ ।
यसले बैङ्किङ क्षेत्रले तिर्ने आयकरका साथै कर्जा प्रवाहमा संकुचन आउने संघको जिकिर छ । नाफामा संकुचन आएपछि यसको असर सेयर बजारमा पनि पर्ने संघको भनाई छ ।
यसैगरी काउन्टर साइक्लिकल बफर २ प्रतिशत वृद्धि भई पुँजीकोष अनुपात ११ बाट १३ प्रतिशत पुग्न गई बैङ्कको लगानी गर्ने क्षमता १ खर्ब ५० अर्ब रुपैयाँले संचकुचन आउने संघको भनाई छ ।
यसले गर्दा सरकारले लिएको ८.५ प्रतिशतको आर्थिक वृद्धि र मौद्रिक नीतिले लिएको २१ प्रतिशत कर्जा विस्तारलाई अवरुद्ध गर्ने ठहर संघले गरेको छ । विस्तार हुँदै गएको बैङ्कासुरेन्सलाई बन्देज लगाउँदा बीमाको बजार विस्तारमा असर गर्ने ठहर संघको छ