काठमाडाैं । चन्द्रागिरि नगरपालिकाको नागढुङ्गामा ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना गरिएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण फैलिएपछि काठमाडौं उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको चन्द्रागिरिको नागढुङ्गामा स्वास्थ्य जाँच केन्द्र स्थापना गरिएको हो ।
उक्त केन्द्रको बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली र चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले संयुक्त रूपमा शुरुआत गरे ।
नगरपालिकाद्वारा स्थापना गरिएको उक्त केन्द्रमा सोही नाका हुँदै काठमाडौं उपत्यका भित्रिने सवारीसाधनका चालक, सहचालक तथा कर्मचारीको स्वास्थ्य जाँच गरिने नगरप्रमुख गिरीले जानकारी दिए।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंह, नगर प्रवक्ता हरिभक्त महर्जन, चन्द्रागिरि–२ का वडाध्यक्ष गोपी सुर्खेतीलगायतको उपस्थिति थियो ।
हालसम्म चन्द्रागिरिमा २ हजार ३ सय ७९ जनालाई कोरोना सङ्क्रमण देखिएको नगरपालिकाका प्रवक्ता महर्जनले जानकारी दिए । तीमध्ये २ हजार १ सय ८१ निको भएर घर फर्किसकेका छन् भने १ सय ५८ होम आइसोलेसन र १४ जना अस्पतालमा उपचारत छन् । हालसम्म चन्द्रागिरिमा कोरोनाका कारण २६ जनाले ज्यान गुमाइसकेका छन् ।
सबै वडामा अत्यावश्यकबाहेक सबै सेवा बन्द
नगरपालिकाले नगरपालिकामा निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख गिरीले बुधबार एक विज्ञप्ति जारी गरी काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तोकेको निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने जानकारी दिए।
चन्द्रागिरिले निषेधाज्ञा अवधिभर सर्वसाधारण सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।