काठमाडौं । कोरोना संक्रमितको संख्या बढेपछि रुन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर र उपमेयर चढ्दै आएको स्कारपियो एम्बुलेन्सको रूपमा प्रयोग गरिएको छ । बिहीबार बिहान ९ बजेबाट स्कारपियोलाई एम्बुलेन्सको रूपमा प्रयोग गरिएको मेयर बासुदेव घिमिरेले जानकारी दिएका हुन् ।
उनका अनुसार, पछिल्लो समय नगरपालिकामा दैनिकजसो करिब २ सय संक्रमित थपिने गरेका छन् । कोरोनाको संक्रमणदर उच्च रहेकाले नगरपालिकाको २ वटा एम्बुलेन्सले मात्रै सेवा प्रवाहा गर्न सम्भव नभएपछि स्कारपियोलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्न लागिएको हो । मेयर घिमिरेले क्यापिटल नेपालसँग कुरा गर्दै भने ‘तत्काल नयाँ एम्बुलेन्स खरिद गर्न सम्भव छैन ।
निजी एम्बुलेन्सबाट नागरिकले सेवा पाउनेमा पनि ढुक्क हुन सकिँदैन । कति निजी एम्बुलेन्सका चालकलाई त रुढ नै थाहा हँुदैन । हामीले चालक पनि आफ्नै राखेर अहिले सेवा दिन थालेका छौं ।’ उक्त गाडी कोरोना संक्रमण नियन्त्रण नभएसम्म एम्बुलेन्सका रूपमा राखिएको उनको भनाइ छ ।
मेयर घिमिरेले चढ्ने गरेको लु १ झ ३६० नम्बर र उपमेयर जागेश्वरदेवी चौधरी चढ्ने गरेको लु१झ ३२६ नम्बरका स्कारपियो एम्बुलेन्सको रूपमा प्रयोग गरिएको हो ।
साथै नगरपालिकाले २ नम्बर वडाको स्वास्थ्य चौकीलाई ४० शय्यासहित अक्सिजनको व्यवस्था गरी अस्पतालका रूपमा विकास गरेको छ । ‘हाम्रो प्राथमिकता नगरवासीलाई रहन्छ तर, मानवीयताको हिसाबले आवश्यकता पर्यो भने अन्य स्थानीय तहका बिरामीलाई पनि सहयोग गर्छौं,’ उनले भने ‘संक्रमितको संख्या अझै बढ्ने देखिएकाले वडा नम्बर ९ मा रहेको सभाहललाई पनि अक्सिजन सहितको आइसोलेसन बनाउन आजदेखि काम भइरहेको छ ।’
आवश्यकताअनुसार चिकित्सक थप गर्ने बताए पनि नगरपालिकाले सामुदायिक विद्यालय र पालिकाभित्र रहेका १२ जना नर्सहरूलाई पनि बिहीबारदेखि कोरोना संक्रमितको उपचारमा खटाएको छ । अहिले नगरपालिकाको आइसोलेसनमा २५ जना बसिरहेका छन् ।