काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ ।
संघका अध्यक्ष कुमार पन्तका अध्यक्षतामा शुक्रबार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गइरहेको कोरोना भाइरसविरुद्ध लड्दै गरेका बिरामीका लागि १०० वटा अक्सिजन कन्सन्ट्रेटर पठाउने निर्णय गरेको हो ।
बैठकमा संघ, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले नेपालमा कोभिड १९ विरुद्ध लड्नका लागि तत्काल अक्सिजन सिलिन्डरलगायत समस्या रहेकाले अल्पकालीन तथा दीर्घकालीन योजनासहित अघि बढ्नुपर्ने सुझाव दिए ।
अध्यक्ष पन्तले सरकारका तर्फबाट स्वास्थ्योपचारमा पहल हुँदाहुँदै पनि कोरोना भाइरस तीव्र रुपमा बढिरहँदा बिरामीले अस्पतालमा शय्यासमेत नपाउने अवस्था रहेको जानकारी दिए ।
संघका उपाध्यक्ष डा बद्री केसीले संघका सक्रियतामा टेलिमेडिसिन सञ्चालन भइररहेको र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न हेल्प डेस्कको आवश्यकता रहेको बताए ।
संघ अमेरिकाका महासचिव पशुपति पाण्डेले संघ अमेरिकाका सक्रियतामा १५ हजार डलर खर्चिएर जनकपुरमा आइसोलेशन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए।
संघ बेलायतका अध्यक्ष पुनम गुरुङले बेलायत सरकारलाई खोप उपलब्ध गराइदिन आग्रह गरिएको जानकारी दिए । संघ अष्ट्रेलियाका अध्यक्ष केशव कंँडेलले कोरोना भाइरसको संक्रमणविरुद्ध लड्नका लागि नेपालमा सहयोग गर्न अष्ट्रेलियावासी नेपाली समुदायका तर्फबाट अर्थ संकलन भइहेको जानकारी दिए।
बैठकमा वक्ताले कोभिड १९ विरुद्ध लड्न आइसोलेशन सेन्टर स्थापना गर्न, स्वास्थ्यकर्मीलाई सहयोग गर्न, पिसिआर टेष्ट र स्वास्थ्य जनजागरण अभियान सञ्चालन गर्न आवश्यक रहेको सुझाव दिएका थिए ।
बैठकले संघका अध्यक्ष पन्त तथा अन्य संक्रमितको स्वास्थ्यलाभको कामना गरेको संघ कोभिड उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।