काठमाडौं । नेपाल सरकारका पूर्वसचिव विनोद केसीले सडक मिचेर भौतिक संरचना निर्माण गरेपछि स्थानीयले ललितपुर महानगरपालिकालाई दिएको उजुरीमा महानगरपालिकाले कुनै कारवाही नगर्दा केसीले निषेधाज्ञामा पनि धमाधम कामलाई अगाडि बढाएका छन् ।
केसीले सडक मिचेर भौतिक संरचना गर्न थालेपछि स्थानीयवासी आक्रोशित भएका थिए । स्थानीयहरुले एक महिनाअगाडि नै महानगरपालिकालाई उजुरी दिए पनि उजुरीमाथि सुनुवाइ नहुँदा केसीले निषेधाज्ञामा सडक मापदण्ड नछोडी संरचनालाई काम गरिरहेका छन् ।
पूर्वसचिव केसीले ललितपुर महानगरपालिका–२४ धापाखेल बाँसघारी चोकमा महानगरपालिकालाई खुलेयाम चुनौती दिँदै मापदण्डविपरीत सपिङ सेन्टर निर्माण कार्य अघि बढाएको स्थानियको आरोप छ ।
‘हामीले केसीले सडक मिचेर निर्माण गरिएको संरचनाको विषयमा महानगरपालिकमा लिखित उजुरी नै दिएका थियौं, नगर प्रहरी आएर कारवाही गर्ने र रोक्ने कुरा भएको थियो तर अहिलेसम्म कारवाही नहुँदा उल्टै काम अगाडि बढेको छ,’ स्थानिय सन्त तामाङले बताए । शक्तिको आडमा खुला रुपमा सडक मिच्दा पनि कुनै कारवाही नहुनु दुखद भएको उनले बताए ।
केसी श्रम सचिव, राष्ट्रपति कार्यालयमा सचिव भैसकेका व्यक्ति हुन् ।
अहिले अरु बन्दको बेला बाहिर निस्कन नपाइरहेको बेला केसीले यही मौका छोपी काम अगाडि बढाएको अर्काे स्थानिय सुरेन्द्र श्रेष्ठले बताए ।
महानगरपालिकाको मापदण्डअनुसार घर अथवा कुनै पनि भौतिक संरचना निर्माण गर्दा सडकबाट कम्तीमा ५ फिट सडक छोडेर मात्रै निर्माण गर्न सकिन्छ । ललितपुर महानगरपालिकाले अब बन्ने भौतिक संरचनाका लागि कम्तीमा १३ फिट सडक हुनुपर्ने मापदण्ड कायम गरेको छ ।
२०७२ सालको भूकम्पपछि सडकका लागि जग्गा छुट्टयाउनुपर्ने मापदण्डलाई अझ कडाइ गरिएको हो । तर, पूर्वसचिव केसीले भने हाल कायम रहेको १० फिटको सडकमा १ इन्च पनि नछोडी पिल्लर हालेका छन् ।
‘यो सामान्य विषय हो नक्शापासका लागि महानगरपालिकामा प्रक्रिया भैसकेकाले मापदण्डअनुसार नै संरचना हुन्छ,’ केसीले क्यापिटल नेपाललाई भने । अहिलेको समयमा पनि सडक मिचेर कहाँ संरचना बनाउन सकिन्छ, कसैले दिएको उजुरी अफवाह मात्र भएको उनले दाबी गरे ।
नगर प्रहरीले एक महिनाअघि धापाखेल बाँसघारीस्थित साइटमा पुगी निर्माण कार्यमा प्रयोग भइरहेका सामग्रीहरू जफत गरेको थियो । तर पछि अरु कारवाही नहुँदा निर्माण नरोकिएको स्थानियहरु बताउँछन् ।
महागरपालिकाका मेयर चिरिबाबु महर्जनले यस्तो बेलामा पनि संरचना बनाउनु भनेको केहि न केहि कमजोरी हुन सक्ने बताए । ‘अहिले कार्यालय बन्द छ, कर्मचारी कार्यालय आउने वातावरण नभएको बेला संरचना बनाउने काम हुनु भनेको गलत भएर हुन सक्छ, यसमा तुरुन्त बुझ्न लगाउँछु,’ उनले भने ।