काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्मा अर्यालले किसानहरु मर्कामा परेका बेला राज्य टुलुटुलु हेरेर नबस्ने बताएकी छिन् ।
कोरोना महामारीले कृषि क्षेत्रमा पारेको प्रभाव तथा महामारीले कृषि उत्पादनका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्थापन र उत्पादित उपजरवस्तुको बजारीकरणमा सहजिकरण गर्ने उद्देश्यले बुधवार मन्त्रालयले सरोकारवालाहरुबीच आयोजना गरेको भर्चुअल छलफलमा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।
कोभिड महामारीका कारण कृषि उपज वस्तुको मूल्य घट्यो भन्ने गुनासो आएको भन्दै उहाँले उक्त विषयमा केही राहतको प्रबन्ध गर्न सकिन्छ की भनेर मन्त्रालयमा छलफल गर्ने प्रतिवद्धता समेत व्यक्त गरेकी छिन् ।
ताजा तरकारीको ढुवानीको व्यवस्थाका सम्बन्धमा आवश्यक पहल गरिने भन्दै मन्त्री अर्यालले यसविषयमा मन्त्रालयको ध्यानाकर्षण भएको र छिट्टै आवश्यक पहल गरिने आश्वासन दिएकी छिन् ।
मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले महामारीका कारण कृषि तथा पशुपंक्षी क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्न मन्त्रालय गम्भीर रहेको र आवश्यक छलफल गरी पहलकदमी अगाडी बढाइने बताए ।
कतिपय तरकारी स्वदेशमा नै उत्पादन भइरहेको सन्दर्भमा भारतबाट पनि आयात भएका कारण किसान मर्कामा परेको उनिहरुले बताएका थिए। अहिले खासगरी ताजा तरकारीहरुमा मूल्यमा किसानहरु मर्कामा परेको तर ढुवानीमा भने समस्या नभएको उनीहरुको भनाई थियो।
मन्त्रालयले वैशाख १५ गते भेटेनरी अस्पताल, क्लिनिक, प्रयोगशाला, पशु चिकित्सा सेवा सञ्चालन, पशुपंक्षी तथा मत्स्य फार्म सञ्चालन, पशु तथा पशुजन्य उद्योगसम्बन्धी कार्यहरु, पशुपंक्षीको ओसारपसारमा प्रयोग गरिने ढुवानीका साधनहरु, दुध तथा दुग्ध पदार्थ, अण्डा, मासु तथा मासुजन्य पदार्थको ढुवानी बिक्री वितरण, दाना तथा दानाको कच्चा पदार्थ, चल्ला क्रेट, घास, पराल, फिड सप्लिमेन्ट, भेटेनरी औषधी तथा खोप, सिमेन, तरल नाइट्रोजनको ओसारपसार तथा विक्री वितरणमा निषेधाज्ञाका अवधीमा स्वास्थ्य सम्बन्धी मापदण्डलाई पालना गर्नेगरी उक्त सेवाहरु सञ्चालनमा आवश्यक सहजिकरण गरिदिन आग्रह गरेको थियो।