काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अघि बढाएको ‘एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान’ अन्तरगत सञ्चालित सबै कार्यक्रमहरूबाट ठूलो संख्यामा मानिसहरू लाभान्वित भैरहेका छन् ।
महासंघले गएको वैशाख २६ गतेदेखि थालेको यस अभियान अन्तगत हालसम्म २ वटा आइशोलेशन तथा उपचार केन्द्र, महासंघ कोभिड १९ सहायता केन्द्र र हेल्लो डाक्टर स्वास्थ्य परामर्श सेवा संचालनमा छन । अन्य थप कार्यक्रमहरू पनि सञ्चालनमा ल्याउने योजनामा महासंघ छ ।
एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अन्तरगत क्षेत्रपाटीस्थित पुरानो गोर्खा अस्पतालको भवनमा स्थापना गरिएको कोभिड आइशोलेशन एवं प्राथमिक उपचार केन्द्र संचालनमा आएको छ । उक्त आइशोलेशनको महासंघका अध्यक्ष शेखर गोल्छा, पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ) ले आज शुभारम्भ गरेका छन ।

सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, महानगरपालिका वडा नम्वर १७ का वडाध्यक्ष नविन मानन्धर, पूर्व मन्त्री भिमसेनदास प्रधान, महासंघको कार्यकारिणी समितिका सदस्यहरू, स्वास्थ्यकर्मी र वडावासीहरूको उपस्थिति थियो ।
सो अवसरमा पूर्व उपप्रधानमन्त्री सिंह र महानगरपालिकाका उपमेयर खडगी (श्रेष्ठ)ले आइशोलेशन सेन्टरको प्रभावकारी सञ्चालनमा आआफ्नो क्षेत्रबाट सहयोग रहने प्रतिवद्धता जनाए ।
महासंघका अध्यक्ष गोल्छाले कोभिड महामारी मुलुकका लागि यतिखेर निकै ठूलो चुनौती भएर आएकालाई यसलाई परास्त गरी आम सर्वसाधारणको स्वास्थ्य सुरक्षामा सहयोग गर्न महासंघ दत्तचित्त भई लागेको बताए । उनले भने ‘मुलुक अप्ठेरोमा पर्दा महासंघले सधै अग्रभागमा रहेर सेवा गरेको यसको इतिहास छ ।’
वरिष्ठ उपाध्यक्ष ढकालले आममानिसको स्वास्थ्य सुरक्षानै यतिखेर प्रमुख चासो रहेकाले महासंघले एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियाननै संचालन गरी संक्रमणको चपेटामा परेका नेपाली दाजुभाई दिदीवहिनीहरूलाई सहयोग गर्न हातेमालो गरेको स्पष्ट पारे ।
उक्त आइशोलेशन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं संचालन गर्ने सम्बन्धमा महासंघ र काठमाडौं महानगरपालिका वडा नम्वर १७ बीच गत वैशाख ३० गते एक समझादारीपत्रमा हस्ताक्षर गरिएको थियो ।
सेन्टर अहिले ५० वटा बेडबाट शुरु गरिएको छ । आवश्यकताका आधारमा विस्तार गर्दै पछि १०० वेडसम्म पुर्याइने योजना छ । उक्त केन्द्रमा कोभिड भई घर वा कोठामा नै आइशोलेशनमा बसी हेरचाह, रेखदेख गर्न सम्भव नरहेका विरामीहरूलाई उचित खाना, औषधि, वासस्थानको व्यवस्था गरी स्वास्थ्यकर्मीहरूको निगरानीमा राखी आइशोलेशन सेवा प्रदान गरिने छ ।
केन्द्र अन्तरगत आइशोलेशनमा रहेका विरामीहरूलाई आपतकालिन रूपमा अक्सिजन दिनुपर्ने भएमा अक्सिजन दिई प्राथमिक उपचार गर्ने वा आवश्यकता अनुसार चिकित्सकको सल्लाहमा विरामीहरूलाई सम्बन्धित अस्पतालमा पठाउने व्यवस्था हुनेछ ।
महासंघ र वडा नम्वर १७ बीचको आपसी सहमती अनुसार महानगरपालिका वडा कार्यालयले चिकित्सक, नर्स एवं स्वयम् सेवकको नियुक्ति एवं परिचालन गर्ने, आइशोलेशनमा रहेका विरामीहरूको रेखदेख, स्याहार सुसार र स्वास्थ्यकर एवं पौष्टिक खानाको उपयुक्त व्यवस्थापन गर्ने, आइशोलेशनमा रहेका आपतकालिन वा आकस्किम उपचारको स्थितिमा रहेका विरामीहरूलाई चिकित्सकको सिफारिसमा सम्बन्धित अस्पतालमा पठाई उपचारको व्यवस्था मिलाएको छ ।
महासंघले कोभिड आइशोलेन एवं प्राथमिक उपचार केन्द्रको सञ्चालन तथा व्यवस्थापनको लागि आवश्यक आर्थिक स्रोतको जोहो गर्नेछ ।
त्यसैगरी महासंघले भगवान महावीर जैन–निकेतन, आरम्भ फाउण्डेशन र कामनपा वडा नम्वर २९ को सहयोग एवं सहकार्यमा वैशाख ३० गतेदेखि काठमाडौंको कमलपोखरीस्थित जैन निकेतमा ५० बेडको ड्राई आइशोलेशन केन्द्र सञ्चालनमा ल्याइसकेको छ । उक्त केन्द्र मार्फत हाल ४० जनाले सेवा पाइरहेका छन् ।
उक्त केन्द्र संचालनका लागि भगवान महावीर जैन निकेतनले स्थान उपलव्ध गराएको छ भने आरम्भ फाउण्डेशनले आइशोलेशनको दैनिक व्यवस्थापन र संचालन गर्ने जिम्मेवारी सहित दुई जना स्वास्थ्यकर्मी र एक जना चिकित्सको व्यवस्था गरी आइशोलेसनमा रहेका संक्रमितहरूको २४ सै घण्टा स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श सहित औषधि उपचारको व्यवस्थापन गरिरहेको छ । स्थानीय तहमा संक्रमितहरूसंग समन्वय गर्ने कार्यमा काठमाडौं महानगरपालिका वडा नम्वर २९ ले सहयोग गरिरहेको छ ।
जैन निकेतमा संचालित आइशोलेशन केन्द्रमा रहने संक्रमितहरूका लागि बिहान बेलुकाको खाना र दिउसोको खाजाको प्रवन्ध गरिएको छ । केन्द्रमा अक्सिजन बाहेक कोरोना संक्रमितहरूका लागि दिइने खाने औषधिहरु समेत उपलव्ध गराईएको छ ।
त्यसैगरी महासंघले कोभिड संक्रमितहरूलाई स्वास्थ्य परामर्श दिन वैशाख २६ गतेदेखि हेल्लो डाक्टर कार्यक्रम संचालन गरेको छ । भाइवरको सहकार्यमा डाक्टर अन कलका चिकित्सकहरूले विरामीहरूलाई स्वास्थ्य परामर्श दिइरहेका छन् । यसबाट सयौ मानिसहरूले स्वास्थ्य परामर्श लिई लाभान्वित भैरहेका छन् ।
महासंघले अगाडि बढाएको स्वास्थ्य सेवा अभियान महासंघका अध्यक्ष गोल्छाको नेतृत्वमा निवर्तमान अध्यक्ष भवानी राणा, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघाई, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकाल, महासंघको स्टार्टअप एण्ड इनोभेसन समितिका सभापति रञ्जितराज आचार्य, महासंघको रोजगारदाता परिषद्का उपसभापति प्रवलजंग पाण्डे, द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरमका सभापति देशबन्धु बस्नेत (अजित), कार्यकारिणी समितिका सदस्यहरू ज्योत्सना श्रेष्ठ, भक्तबहादुर हमाल, सौरभ ज्योति, डाक्टरहरू, महासंघका पूर्व पदाधिकारी एवं कार्य समिति सदस्यहरू,सचिवालयसहित महासंघको सिंगो टिमनै यतिखेर अग्रभागमा रहेर कार्य गरिरहेको छ ।