काठमाडौं । गैरआवासिय नेपालीले प्रवद्र्धन गरेको एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले १४२ मेगावाट क्षमताका ४ ओटा जलविद्युत आयोजनामा लगानी गरेको छ ।
एनआरएनले ७३ मेगावाटको मध्यतमोर, २८ मेगावाटको लिखु, २७ मेगावाटको दोर्दीखोला र १४ मेगावाटको मैलुङ्गखोला जलविद्युत आयोजना साझेदारीमा बनाउन सेयर पुँजी लगानी गरेको हो ।
दोर्दीखोला, लिखु आयोजना निर्माणधिन अवस्थामा छन भने मध्यतमोर र मैलुङ्गखोला आयोजना निर्माणमा जान तयारीमा छन् । कम्पनीले जलविद्युतका साथै बैङ्क र बिमामा पनि लगानी गरेको जानकारी दिएको छ । दोर्दीखोला बाहेक सबै आयोजना सानिमा ग्रुपसंग साझेदारीमा निर्माण गरेको हो ।
एनआरएनले हाइड्रो इलेक्ट्रिसिटी एन्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेड (एआईडीसीएल), सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, नेपाल इन्भेस्टमेन्ट बैङ्क, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड, वरुण हाइड्रोपावर लिमिटेड, अरुण कावेली पावर लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलगायत १० ओटा कम्पनीमा लगानी गरेको छ ।
कम्पनीको पुँजी ७३ करोड ५६ लाख रुपैयाँ रहेको छ । कम्पनीमा जीवा लामिछाने, शेष घलेलगायत गैरआवासिय नेपालीको लगानी छ ।
कम्पनीले आगामी कात्तिकमा छैठौं वार्षिक साधारणसभा गर्ने भएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) उषा खतिवडाले जानकारी दिइन । उनले आईपीओ निष्कासन नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको बताइन ।
एनआरएनले ३३ करोड ९८ लाख रुपैयाँ बराबरको ३३ लाख ९८ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
